१ कार्तिक २०८३, आइतबार

यी हुन् विद्यासुन्दरका लागि खट्ने सारथी, जसले जिताएरै छाडे

30.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने निकै दोधार चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वैशाख १५ वित्दासम्म पनि काठमाडौँलगायतका महानगरपालिकामा मेयरका उम्मेदवार चयन गर्न सकेको थिएन । सबै भन्दा शक्तिशाली मानिएको काठमाडौँ महानगरपालिकामा त अझ को मेयरको उम्मेदवार बन्ला भनेर चर्चा परिचर्चा चुलिएको थियो । कसैले पूर्व मेयर केशव स्थापित पक्का भन्दै सामाजिक सञ्जाल रंङ्याएका थिए भने कसैले काठमाडौँको मेयरका रुपमा अनेरास्ववियुका पूर्व अध्यक्ष गौरी प्रधान त कसैले एमाले नेता जीवनराम श्रेष्ठको नाम लिदैँ पक्का जस्तै भएको दाबी गर्दै आएका थिए । दुई–दुई पटक काठमाडौँको वडा २१ वाट भारी मतले अध्यक्ष निर्वाचित विद्यासुन्दर शाक्य त्यतिवेलासम्म पनि बाहिर धेरै चर्चामा थिएनन् । स्वाभावले नै बढी चर्चामा आउन नचाहने एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव शाक्यको नाम जब उम्मेदवारी दर्ता गर्ने दिन एमाले स्थायी कमिटीले मेयरका रुपमा घोषणा गर्यो । त्यसपछि भने राजधानीवासीका लागि मात्र होइन राष्ट्रिय राजनीतिमै विद्यासुन्दर ‘हटकेक’ बने ।

उनी मेयरको उम्मेदवार बन्दा पनि धेरैले उनले जित्लान र ? खोइ उनको त नाम नै सुनिएको छैन ? मैले त आजसम्म उनलाई देख्न पनि पाएको छैन हो ? भन्नेहरुको जमात निकै बाक्लो थियो ।

काठमाडौंको भित्रि सहरमा निकै लोकप्रिय जनप्रतिनिधीका रुपमा छवि बनाएका विद्या सुन्दर शाक्य पार्टी संगठनभित्र मात्रै होइनन् आम समुदायमा पनि सरल, सभ्य र शालिन व्यक्तित्वका रुपमा परिचित छन् भन्ने धेरैले कमै अनुमान लगाएका थिए ।

टेलिभिजनका पर्दाहरुमा समेत सुरुसुरुमा त्यति धेरै खुल्न नसकेका शाक्यले जब विस्तारै ‘पिकअप’ लिदैँ गए । धेरैका अनुमानहरुले फेल खाँदै गए । राजनीतिक जीवनमा कहिल्यै चुनाव नहार्ने व्यक्तिका रुपमा स्थापित शाक्यले जब बैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा पनि सफलता प्राप्त गरे त्यसपछि भने उनको छवी झन उच्च बन्यो ।

सबैका कुरा सुन्ने, विकास निर्माणका काममा अहोरात्र खटिरहने, भाषण भन्दा बढी काममा विश्वास गर्ने, नेता कार्यकर्ताहरुको भावनालाई सम्मान गर्ने, राम्रो कामका लागि विपक्षीलाई पनि साथ समर्थन गर्ने र अध्ययनमा विशेष रुची भएका शाक्य पार्टी भित्रपनि सरल छवी नै स्थापित गर्न सफल थिए । त्यही छवी निर्वाचनमा पनि देखियो र सबैले प्रतिक्षा गरेको बागदरवारको कुर्सी उनले पाँच वर्षका लागि प्राप्त गरे । कसैको चर्को विरोधीका रुपमा नरहेका कारण मतादाताको पनि उनी पहिलो रोजाईमा परे ।

उनको मध्यमार्गी छवीका कारण उनी कसैको पनि आलोचित पात्र बनेनन् अर्थात फरक गुट भनेर उनलाई असहयोग गर्नेहरुको समूह नगन्य रुपमा देखियो । एमालेको सिंगो संरचना नै विद्या सुन्दरलाई मेयरमा जिताउनका लागि अभ्यस्त बन्नु नै उनको जितको एक कारण बन्यो ।

को–को थिए विद्या सुन्दरका सारथी ?

काठमाडौं महानगरपालिकाको मेयरलाई दोस्रो प्रधानमन्त्रीका रुपमा हेरिन्छ । त्यसकारण पनि त्यो पद प्राप्त गर्ने रहर वा चाहना पार्टीमा सक्रिय राजनीति गरेका सबैलाई हुनु अस्वाभाविक होइन । तर, सबैले चाहना वा रहर गरेर मात्र पनि त्यो पद प्राप्त गर्ने सम्भावना हुँदैनथ्यो । काठमाडौँको मेयर जित्नका लागि पार्टी संगठन त बलियो चाहिन्छ नै त्योसँगै आफ्नो योग्यता–क्षमता र उम्मेदवारलाई अघि बढाउनका लागि त्यस्तै सारथीको पनि अत्यावश्यक हुन्छ ।

विद्याले बागदरवारको कुर्सी प्राप्त गर्नुमा सारथीहरुको पनि निकै महत्वपूर्ण हात रहेको छ । भौतिक एवम् सामाजिक विकास गर्न योग्य व्यक्तिका रुपमा एमालेले विद्या सुन्दरलाई छान्यो । त्यसका लागि पार्टी अध्यक्ष, निवर्तमान प्रधानमन्त्री एवम् राष्ट्र र राष्ट्रियताको पक्षमा चट्टान जस्तै अडिक नेताका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल केपी शर्मा ओलीको प्रमुख हात रह्यो । पार्टी अध्यक्षकै साथ र समर्थन पाएपछि विद्या सुन्दरलाई एमालेका अन्य नेता कार्यकर्ताको सहयोग नरहने कुरै भएन ।

केपी ओलीले विद्यासुन्दरलाई अघि मात्र बढाएनन् । उनले सार्वजिनक भाषणका क्रममा समेत काठमाडौँमा विद्यासुन्दरले नजित्ने हो भने आफूलाई काठमाडौँ छिर्नै लाज हुने प्रतिक्रिया दिए । उनका ती अभिव्यक्तिले पनि धेरैहदसम्म काम गरेको एमाले नेताहरुको ठहर छ । विद्यासुन्दरको घरदैलो कार्यक्रममा समेत सहभागी भएका ओलीले उनलाई निकै प्राथमिकता दिएको प्रष्ट हुन्थ्यो ।

ओली विद्याको पहिलो दिनको घरदैलो कार्यक्रममा लगनटोलमा सहभागी भएकै कारण शाक्यको विजयका लागि थप इट्टा बन्यो । निकै चर्चामा रहेका पूर्व मेयर केशव स्थापितलाई रणनीतिक हिसावमा ‘कन्भिन्स’ गरेर शाक्यको प्रचारमा खटाउनमा पनि ओलीको भूमिका रहेको धेरैले चर्चा गरेका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनका बेला एमालेबाट टिकट नपाएपछि संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका स्थापितले यो पटक पनि त्यसै गर्ने हुन कि भन्ने धेरैको अनुमान थियो । तर, उनले पनि ती अनुमानलाई गलत सावित गर्दै शाक्यको प्रचारमा अहोरात्र खटिए । उनको त्यो खटाइले सार्थकता पाएको धेरैको अनुमान छ । स्थापित काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा ल्याएका थिए । उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर–टहराहरू भत्काइएका थिए । उनले ती सबै काममा विद्याको पनि साथ रहेको प्रचार गरेपछि विद्यालाई जित हात पार्न थप सहज भयो । ‘एमाले अध्यक्ष ओली त विद्या सुन्दरको ‘ब्याक बोन’का रुपमा नै उभिए ।

त्योसँगै प्रदेश नम्बर तीनकी संयोजक एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टीका महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य शंकर पोख्रेल, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ,  उपत्यका इञ्चार्ज सानु श्रेष्ठ, एमाले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, ओली प्रधानमन्त्री रहेका  बेलाका सामाजिक सांस्कृतिक विज्ञान–प्रविधि तथा विकास सल्लाहकार डाक्टर अजयक्रान्ती शाक्य, व्यवस्थापिका संसद्का सदस्य रामवीर मानन्धर लगायतको भूमिका पनि विद्यालाई जिताउन कम महत्वपूर्ण रहेन,’ एमालेकै एक नेताले भने, ‘उहाँहरुको भूमिकाका कारण नै विद्याले यो सफलता चुम्नुभयो ।’

विद्याका पक्षमा माहोल बनाउन एमालेले स्थायी कमिटी सदस्य शंकर पोख्रेल कमाण्डर रहेको निर्वाचन परिचालन कमिटी नै गठन गरेको थियो । उक्त कमिटीमा स्थापितसहित पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ, रामबीर मानन्धर, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज साबित्रा भुषाल, परराष्ट्रविद् तथा केन्द्रीय सदस्य डा.राजन भट्टराई र संस्कृतिविद् एवं विकास विज्ञ डा. अजय क्रान्ति शाक्य थिए ।

समग्र निर्वाचन परिचालनको जिम्मेवारी पोख्रेलले लिए पनि आर्थिक जोहो गर्नेदेखि बौद्धिक समूदायसँग भेटघाट गराउने, विभिन्न सामाजिक तथा संघ संस्थाहरुका प्रतिनिधिहरुसंग भेटघाट गराउने, चुनावी माहोल सिर्जना गर्ने र विद्यालाई शक्तिशाली बनाउनेसम्मका जिम्मेवारी लिए ।

पार्टीका अन्य नेता र जनवर्गीय संगठनको पनि कम छैन योगदान

विद्याका देखिने सारथीहरु सिमित थिए । तर, पृष्ठभूमिमा पनि उनलाई जिताउन लाग्नेहरुको सङ्ख्या कम थिएन । महानगरपालिकाका संस्थापक मेयरदेखि एमालेको स्थायी कमिटी, एमाले काठमाडौँ जिल्ला कमिटी, अनेरास्ववियु, युवा संघलगायतको पनि भूमिका उल्लेख्य रह्यो । प्रेस चौतारी नेपालले पनि उनको जितका लागि निकै ठूलो योगदान गरेको थियो । मिडिया सेन्टर नै स्थापना गरेर चौतारीले विद्याको चुनावी प्रचार अन्य उम्मेदवारको भन्दा शसक्त बनायो । ‘अन्य कुनै जिल्लामा उम्मेदवार हार्नु–जित्नुमा गुटको प्रभाव देखियो,’ एक नेताले भने, ‘तर, काठमाडौँ महानगरमात्र यस्तो अपवाद भयो ।’