१४ कार्तिक २०८३, शनिबार

इपिजीमा अहिलेसम्म के–के भयो ? भारतले १९५० को सन्धिबारे जवाफ दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ ।  नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को चौथो बैठक भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा सोमबार बस्दै छ । बैठकमा भारतीय पक्षले नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० को विषयमा नेपाल पक्षले राखेको प्रस्तावको जवाफ दिने तय भएको छ । तीनदिने बैठकमा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ जाँदै छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

‘बैठकमा सहभागी हुन आइतबार नयाँदिल्ली हुँदै देहरादुन जाँदै छौँ,’ इपिजीको नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘नेपाल–भारत सम्बन्धका सबै विषयमा जारी छलफललाई निरन्तरता दिन्छौँ ।’ उनले तेस्रो बैठकमा छलफल भएका विषयमा यसपटक थप छलफल हुने पनि बताए ।

भारतीय पक्षले आयोजना गर्ने बैठकमा नेपालतर्फबाट संयोजक डा. थापा तथा सदस्यहरू राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी हुनेछन् । भारतबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्तप्रसाद, डा.बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी हुनेछन् ।

२३ र २४ चैतमा काठमाडौंमा बसेको तेस्रो बैठकमा नेपालका तर्पबाट १९५० को सन्धि, व्यापार तथा पारबहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि सम्झौतामा नेपालले चाहेको परिवर्तन पेस भएको थियो । नेपालको तर्फबाट समूहका सदस्यमध्ये नीलाम्बर आचार्यले १९५० को सन्धिमा नेपालले महसुस गरेको अप्ठेरो, डा.राजन भट्टराईले व्यापार तथा पारबहन सन्धिका विषयमा नेपालको चासो तथा सूर्यनाथ उपाध्यायले जलस्रोतमा नेपाल र भारतबीच भएको सन्धिको समीक्षात्मक प्रस्तुतीकरण गरेका थिए ।

नेपालले सन्धिको २, ५, ६ र ७ परिवर्तन हुनुपर्ने प्रस्ताव राखेको थियो । नेपाली पक्षले नेपालको अन्तर्राष्ट्रिय भूमिका विस्तार भएको, शान्ति स्थापक सेनादेखि अन्य अन्तर्राष्ट्रिय गतिविधिमा नेपालको संलग्नता बढेको, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य पनि बदलिएको भन्दै सन्धि सम्झौताका असान्दर्भिक विषय हटाउनुपर्ने धारणा राखेको थियो ।

‘१९५० को सन्धिको विषयमा नेपालले प्रस्तुत गरेको धारणाप्रति भारतीय पक्षबाट प्रस्तुतीकरण हुन्छ,’ इपिजीका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘हाम्रो छलफलको केन्द्र १९५० को सन्धि नै हुन्छ, बाँकी विषयमा दुईपक्षीय विभिन्न तहमा छलफल भइरहेको छ । पहिले छुटेका सीमा व्यवस्थापनको विषयमा पनि हामी कुरा उठाउँछौँ ।’

अहिलेसम्म के–के भयो ?

१५ देखि १७ जेठसम्मको चौथो बैठक भारतीय पक्षले देहरादुनमा आयोजना गर्दैछ । तेस्रो बैठक नेपालले २३ र २४ चैतमा काठमाडौंमा आयोजना गरेको थियो । दोस्रो बैठक गत वर्ष १८ र १९ असोजमा नयाँदिल्लीमा भएको थियो । पहिलो बैठक भने नेपालले गत वर्ष २० र २१ असारमा काठमाडौंमा आयोजना गरेको थियो ।

नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठकको पहिलो एजेन्डा १९५०को शान्ति तथा मैत्री सन्धि थियो । दुई वर्षमा प्रतिवेदन दिनुपर्ने म्यान्डेट पाएको समूहको अवधि २० असारमा एक वर्ष पूरा हुँदै छ । समूहको पहिलो बैठक बसेको मितिअनुसारको दुई वर्षे अवधि २०७५ असारमा सकिन्छ । ‘१९५० को सन्धिमा सहमति भएपछि बाँकी विषय टुंगिन्छ,’ समूहका एक सदस्यले भने ।