१४ कार्तिक २०८३, शनिबार

यसरी गर्दै छन् देउवाले सरकार गठनको पहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसद्मा रहेका दलहरूलाई सहयोगका लागि पत्र पठाउने भएका छन् ।

‘राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रूपमा सभापतिले नयाँ सरकार गठनको लागि पहल थाल्नुहुनेछ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । ३१ जेठको दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा नयाँ सरकार बन्ने देउवाको विश्वास छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

सहमतीय सरकारको सम्भावना कम

अहिलेकै सत्तागठबन्धन मिलेर नयाँ सरकार गठन गर्ने भएपछि सहमतीय सरकार बन्ने सम्भावना कम छ । गठबन्धन दल एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल एमालेले सरकार गठनमा चासो नदेखाउने भएको छ । यस्तो अवस्थामा सहमतीय सरकार गठन हुने सम्भावना न्यून रहेको देउवानिकटका नेता बताउँछन् ।

‘परम्पराअनुसार सहमतीय सरकारको लागि प्रयत्न गर्न छोड्दैनौँ,’ ती नेताले भने, ‘तर, सहमतीय सरकार गठन हुने सम्भावना अत्यन्त कम छ ।’ यस्तो हुँदा कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरमलाई समेटेर गठबन्धन बनाउने तयारी देउवाको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा आओस् भन्ने चाहना भए पनि सुरुमा नै उसलाई ल्याउने पक्षमा देउवा नभएको उनीनिकट स्रोत बताउँछ ।

प्रचण्डको राजीनामापछि देउवाले के भने ?

कांग्रेस सभापति देउवाले संविधानको स्वीकार्यता र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिकाका सराहना गरेका छन् । देउवाले संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन गरेकोमा प्रशंसा गर्दै भद्र सहमतिअनुसार सरकार छाडेकोमा धन्यवाद व्यक्त गरेका छन् । संविधान कार्यान्वयन अघि बढ्नुका साथै शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा वृद्धि हुनुलाई महत्वपूर्ण भन्दै देउवाले राजीनामा दिएका प्रधानमन्त्रीको कामको सराहना गरेका हुन् ।

प्रधानमन्त्रीले प्रचण्डले भद्र सहमतिअनुसार राजीनामा दिएको साढे तीन घन्टापछि विज्ञप्ति जारी देउवाले प्रचण्डको कामको प्रशंसा गरेका हुन् ।

‘सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको छ । १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रूपले सम्पन्न भएको छ । सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ’ देउवाद्धारा विज्ञप्तिमा उल्लेख छ, ‘यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ । यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइँ दिन चाहन्छु ।’