लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरूको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारण सभा गत शनिबार लण्डनमा सम्पन्न भएको छ ।
संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले दाङ–देउखुरी राजपुर गाविस फोहराका अग्निपीडितहरूका लागि डेढलाख रुपियाँ, दाङको रिहारस्थित बगारबाबा माविलाई पैंतीसहजार रुपियाँ र रोल्पा लिबाङस्थित बिहानी प्रस्तावित माविलाई एकलाख सहयोग गरिएको बताए ।
त्यसैगरी प्यूठान तथा रोल्पा जिल्लाका आगलागी पीडितहरूका लागि समाजले तीनलाख रुपियाँ सहयोग गरेको थियो ।
प्यूठान जिल्लाकै एक विद्यालयलाई रु एकलाख सहयोग गर्न लागिएको पनि उनले जानकारी दिए ।
यसबाहेक गत वर्ष लण्डनमा निधन भएकी स्व विष्णुकुमारी बुढाथोकीको अन्त्येष्ठीका लागि समाजका सदस्यहरूले तीन हजार पौण्डभन्दा बढी सहयोग गरेका थिए ।
दुई वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक गहतेस्थित सेतीदेवी निमावीको भवन निर्माणार्थ झण्डै तीन लाखरुपियाँ उपलब्ध गराइएको पनि सचिव खडकाले जानकारी दिए ।
समाजले बेलायतको भ्रमणमा आएकी सभामुख ओनसरी घर्तीमगर तथा कलाकारहरु ज्योति मगर, कुमार राना र जुना श्रीस रोकालाई छुट्टाछुट्टै कार्यक्रम गरी स्वागत गरेको थियो ।
समाजका अध्यक्ष हिक्मतसिंह रोकाले बेलायतमा बसोबास गर्ने राप्तीवासीहरूको साझा परिवारको रुपमा समाजलाई आफूले हेरेको बताए । उनले बेलायतमा आएर पनि राप्ती अन्चलको सांस्कृतिक तथा सामाजिक पहिचान प्रबर्द्धन गर्न प्रयास गर्नुकासाथै राप्ती अन्चलमा शिक्षा तथा आपत्कालीन मानवीय सहायता पुगाउन समाजले सक्दो सहयोग गरिरहेको जानकारी दिए ।
उनले समाजका गतिविधिमा सघाउने सबै सदस्य तथा पदाधिकारीहरूलाई धन्यवाद पनि दिएका छन् ।
समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार गंगाबहादुर मल्लद्वारा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावहरू व्यापक छलफलपछि पारित गरिएको थियो ।
प्रस्तावमा कार्यसमितिको कार्यकाल दुई वर्षबाट बढाइ तीन वर्ष बनाउने र एकजना उपाध्यक्षको ठाउँमा दुईजना उपाध्यक्ष (एकजना महिला) अनिवार्य गर्ने निर्णय छन् ।
समाजका सल्लाहकार भगीरथ योगीले बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरूले आफू जन्मेको गाउँठाउँमा सक्दो सहयोग गर्ने काम सह्राहनीय भएको बताए । उनले खासगरी बेलायतमा जन्मेका र पढीरहेका नानीहरुलाई नेपाली भाषा, संस्कृति र पहिचानबारे जानकारी दिन समाजले ध्यान दिनुपर्नेमा जोड दिए ।
साधारणसभाले समाजका कोषाध्यक्ष झपिन्द्र थापाद्वारा प्रस्तुत वार्षिक आयव्यय विवरण पारित गरेको थियो ।
कार्यक्रमको शुरुमा समाजका उपाध्यक्ष केशरबहादुर रोकाले सबै सदस्यहरूलाई स्वागत गरे ।
समाजको वार्षिक गृष्मकालिन भेटघाट आउँदो जुलाई २९ तारिख शनिबार फार्नबरोमा आयोजना गर्न लागिएको छ ।















प्रतिक्रिया