काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिंदै गर्दा छोरा प्रकाश दाहालले प्रमुख प्रतिपक्षी एमालेमाथि प्रहार गरेका छन् ।
प्रकाशले मंगलबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डको अर्को रेकर्ड भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको सांकेतिक रुपमा आलोचना गरेका छन् ।
जनताले विभिन्न काममा प्रचण्डलाई बधाई दिइरहेको उल्लेख गर्दै उनले कसैले राजीनामा नमागेको, अविश्वास प्रस्ताव पनि दर्ता नभएको, संसदमा बहुमत नगुमाएको, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भनिरहेको बेला राजीनामा दिएर प्रचण्डले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको र इमान्दार रहेको पुष्ट गर्न खोजेको भनेका छन् ।
उनले यसअघि एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा राजीनामा दिन माओवादीले दबाब दिएको, समर्थन फिर्ता लिएको र काँग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको सन्दर्भलाई सांकेतिक रुपमा उठाउँदै भनेका छन् – ‘सडकमा राजीनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वासको प्रस्ताव दर्ता हुँदा पनि राजीनामा नदिने नेता रहेको मुलुकमा प्रचण्डले नेपाली राजनीतिमा सहमति पालनामा इमान्दार बन्नुपर्छ भन्ने स्थापित गर्न राजीनामा दिँदैछन् ।’
त्यस्तै, उनले आगामी सरकारलाई सफलता पूर्वक निर्वाचन सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।
















प्रतिक्रिया