काठमाडौं, ९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा आफ्नो राजनीतिक विरासत जोगाउन मुस्किल देखिएको छ ।
स्थानीय तहको निर्वाचनमा छोरी रेणु दाहाललाई मेयर पदमा जिताएर आफ्नो भावी चुनावी क्षेत्र सुरक्षित बनाउने प्रचण्डको योजनालाई एमालेले तुहाउनै लागेपछि यस्तो परिस्थिति देखा परेको हो । अब मतपेटिकामै राजनीति नगर्ने हो भने प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग तालमेल गरी तयार पारेको विरासत जोगाउन हम्मे–हम्मे परेकोे छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
त्यसो त चितवनको माडीमै माओवादीको जीत भएपछि भरतपुरको मतगणनामा रेणुको पक्षमा मत आउने प्रक्षेपण माओवादी नेताहरूले गरेका थिए । तर, मगतणना जारी हुँदा एमाले उम्मेदवार देवी ज्ञवालीले भरतपुरमा ३ हजार मतको अन्तरले अग्रता लिन थालेपछि रेणुले जित्नसक्नेमा शंका उत्पन्न हुन थालेको छ ।
माओवादी नेताहरू नै रेणुका लागि महानगरमा आफ्ना मत छैनन् भन्नेमा सहमत छन् । उनीहरू कांग्रेसीको मतले नै रेणुको मेयर बन्ने सपनालाई साकार पार्ने अड्कलमा छन् । यदि कांग्रेस मतदाताले रेणुलाई मत नदिएको खण्डमा वा कम दिएको खण्डमा उनको सम्भावना नरहनेमा माओवादी नेताहरू सहमत छन् ।
रेणुलाई जिताउनकै लागि चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । प्रतिपक्षी एमालेसँग चिढिएका मतदाताको मन बहलाउनकै लागि त्यो संयुक्त सभा गरिएको थियो । यसकारण पनि अहिले रेणुका पक्षमा आएका मतमा दुवै नेताले कसरत गरेको पुष्टि भइसकेको छ । अन्य ठाउँका मत परिणाम माओवादीले अपेक्षा गरेअनुसार नै आएपछि भरतपुरमा भने प्रचण्ड र माओवादीको साख जोडिएको छ । त्यससँगै कांग्रेसले गरेको समर्पण भूलमा परिणत नहोस् भन्ने कांग्रेस नेताहरूको अपेक्षा पनि छ ।
मतदाताको मनस्थितिको आँकलन गर्न कठिन स्थानीय चुनावमा रेणु प्रधानमन्त्री प्रचण्डको राजनीतिक विरासतको एक पात्र पनि हुन् । दक्षिण एसीयामा चलेको पारिवारिक राजनीतिको विरासत जोगाउनका लागि नै साम दाम र दण्डभेद गरेर प्रचण्डले रेणुलाई परिवारको भविष्य बनाउने ठूलो चुनौति लिएका हुन् । कतिपय माओवादीले जीत्नसक्ने ठाउँमा कांग्रेससँग आत्मसमर्पण गरी रेणुका लागि भरतपुर तयार पारेका प्रचण्ड पार्टीभित्र नातावादी राजनीति गरेको विषयमा पनि आलोचित भए ।












प्रतिक्रिया