१ कार्तिक २०८३, आइतबार

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णयमा एमालेको कडा विरोध, तत्काल फिर्ता लिन माग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कैलालीको टीकापुर हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले शुक्रबार एक विज्ञप्तिमार्फत २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र १ जना शिशुको विभत्स हत्या एवं त्यसपछिका विभिन्न आपराधिक घटनाहरूलाई राजनीतिक आवरण दिई तिनमा सङ्लग्नहरूलाई उन्मुक्ति दिन सरकारले हिजो गरेको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

यस्तो छ एमालेको विज्ञप्तिः

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र १ जना शिशुको विभत्स हत्या एवं त्यसपछिका विभिन्न आपराधिक घटनाहरूलाई राजनीतिक आवरण दिई तिनमा सङ्लग्नहरूलाई उन्मुक्ति दिन सरकारले हिजो गरेको निर्णयप्रति नेकपा (एमाले) गम्भीर आपत्ति प्रकट गर्दछ ।

विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक–पटकका फैसला तथा निर्देशनहरू एवं मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरितको सरकारको यस्तो निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने कुरा स्पष्ट छ ।

यस निर्णयले इमान्दारीपूर्वक आफ्नो कत्र्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ । सरकारले यस्तो निर्णय गरेर न्यायको पर्खाइमा बसेका पीडितहरूको घाउमा नुनचुक दल्ने काम गरेको छ ।

नेकपा (एमाले) उक्त निर्णय तत्काल फिर्ता लिन, घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, दण्डहीनता अन्त्य गर्न तथा मानव अधिकार र विधिको शासनको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय