
– शिशिर शिंखडा
भरतपुर, ९ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणना अब झन रोमाञ्चक भएर जाने देखिएको छ । माओवादी र काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली मेयरमा ३४ सय १४ मतले अगाडि भए पनि अब झन् कडा प्रतिस्पर्धा हुने देखिएको हो । ज्ञवालीले २६ हजार ६२७ मत पाएका छन् भने रेणुले २३ हजार २ सय १३ मत पाएकी छिन् । खासगरि, माओवादी र काँग्रेसको बाहुल्यता रहेको ठाउँको मतगणना हुन गइरहेका कारण रेणुले मत अन्तर घटाउँदै लाने देखिएको छ ।
कहाँ, को अगाडि ?
अहिलेसम्म १ देखि १२ सम्म वडाको लगातार मतगणना भयो, अनि २८ र २९ नम्बर वडाको पनि मतगणना गरियो । मतगणना घोषणा भएका १४ मध्ये १० वटा वडामा एमाले विजयी भएको छ। माओवादी केन्द्रले पहिलो खाता १३ नम्बर वडामा खोलेको छ । १३ नम्बर वडामा गंगानगर , चम्पानगर र उज्वलनगर पर्छ । वडा नम्बर १४ रेणु दाहालकै पुरानो घर भएको क्षेत्र हो । यस क्षेत्रका राधापुर , शान्तिपुर, शिबनगर , सुन्दरबस्तीमा माओवादी बलियो छ । मेयरमा रेणुले मत पाए पनि वडा भने काँग्रेसको पोल्टामा जाने देखिएको छ ।
१५ नम्बर वडा अन्तरगतको मंगलपुर, श्रीपुर, फूलबारी र सुर्यनगर काँग्रेसको गढको रुपमा चिनिन्छ ।
१६ नम्बर वडामा मेयरमा एमालेले आधाआधी भोट पाए पनि वडामा भने काँग्रेसकै बलियो देखिन्छ । १६ नम्बर वडामा मंगलपुर , मोहनपुर र बिजयनगर पर्छन् ।

१७ नम्बर वडा देखि २० सम्म सबै वडामा काँग्रेस अगाडि देखिन्छ । यस क्षेत्रमा शारदानगर, रामपुर, गोब्रनी, गुञ्जनगर, चनौली, शशिनगर, भुवनबस्ती, गुञ्जनगर ,किरणगञ्ज, भिमनगर, सिमलटाँडी र दद्रेनी पर्छन् । एमाले १९ नम्बर वडाको अध्यक्षमा मात्र जित्ने सक्ने आंकलन गरिएको छ ।
२१ र २२ नम्बर वडामा टक्कर हुने देखिएको छ । यहाँ पार्वतीपुर , मनिपुर, पटिहानी, पदमपोखरी, धनौजी पर्छ ।
यसैगरी, २३ र २४ नम्बर वडामा भने एमालेको वर्चश्व देखिन्छ । २३ नम्बर वडामा जगतपुर, खड्कौली, मधुपुरी र २४ नम्बरमा जगतपुर, केरूङ्गा र शुक्रनगर पर्छन् ।
२५ नम्बर वडामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । २५ नम्बरमा अमृतनगर , शुक्रनगर , लेबर नगर पर्छन् । २६ नम्बर वडामा नेपाली काँग्रेस, माओवादी र राप्रपाको वर्चश्व छ । राप्रपाका कारण पनि काँग्रेसकै भोट बढ्ने देखिएको छ । राप्रपाले एमालेकै भोट काटेको देखिएको छ । २६ नम्बर वडामा दिव्यनगर, रातापुर र कोइलाहा पर्छ ।
हुन त भरतपुरमा सुरुदेखिकै मतगणनामा व्यापक ‘क्रस भोटिङ’ देखिएको छ । काँग्रेस बाहुल्य रहेको २७ नम्बर वडामा मंगलबार भएको मतगणनामा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भए पनि मेयरमा भने एमालेकै देवी ज्ञवालीले बढी भोट पाए । रेणुले पाउनुपर्ने काँग्रेसको भोट ब्यापक ‘क्रस भोटिङ’ भएर देवीलाई आएको देखिएको छ । यही गतिमा गयो भने मात्र देवीका लागि जित सहज हुनेछ । अन्यथा कडा टक्कर हुने अनुमान छ । तर, काँग्रेस र माओवादी बाहुल्य क्षेत्रमा एमालेका ज्ञवालीको सोचेजस्तो भोट नआउने विश्लेषण एमाले वृत्तमा छ । काँग्रेसको भोट तल-माथि नभएको खण्डमा रेणुले जित्ने सम्भावना पनि जीवितै छ ।
मेयरमा कडा टक्कर परे पनि उपमेयरमा भने काँग्रेसकै यसअघिदेखि नै अगाडि छ । उपमेयरमा काँग्रेसको पक्कापक्कीझैं देखिएको छ । उपमेयरमा काँग्रेसकी पार्वती शाहले २५ हजार ६९२ मत पाएकी छिन् । एमालेकी दिव्या शर्माले २३ हजार ३६२ मत पाएकी छिन् ।
भरतपुरको मतगणना आउन अझै पाँच दिनसम्म लाग्ने बताइएको छ ।















प्रतिक्रिया