काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं नायिका रेखा थापाले स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दै राप्रपाको चुनाव ‘गाई’ हरायो भन्नेलाई कडा जवाफ दिएकी छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुमार्फत नायिका थापाले गाई हरायो भनेर राप्रपालाई उडाउनेलाई चुनावको प्रारम्भिक परिणाम देखेर नाच्ने र रुनेहरुले राजनीति नबुझेकै हो भन्ने प्रश्न सोध्दै जवाफ फर्काएकी हुन् ।
काठमाडौंमा एमालेसँग तालमेल गरेर उपमेयरमा चुनाव लडेको राप्रपा प्रारम्भिक मतपरिणामअनुसार कांग्रेससँग प्रतिष्पर्धा गरिरहेको छ । तर, मेयरमा भने एमालेका अग्रस्थानमा छ । जसले एमाले–राप्रपा गठबन्धनले राप्रपालाई त्यति फाइदा भएको देखिँदैन् ।
मलाई लागेको कुरा-
सामाजिक सञ्जालमा जुन प्रकारले चुनावी परिणाम आएको छ, यसमा कसैले आत्तिनुपर्ने र मात्तिनुपर्ने स्थिति छ जस्तो विल्कुल लागेको छैन।
पछिल्लो राजनीतिक अवस्थालाई प्रारम्भिक चरणको रुपमा लिन जरुरी छ। हरेक अवस्था भनौं वा व्यक्ति अभ्यासको शल्यक्रियामा छानिँदैछन्।
अब रह्यो, चुनावको परिणाम। चुनावको परिणाम देखेर नाच्ने र रुनेहरुले राजनीति नबुझेकै हो कि भन्ने लागेको छ। सायद म कम जान्ने भएर पनि होला।
एउटा विश्लेषणको आधारलाई गहन भएर भन्ने हो भने, हार्दा नेपाली हार्ने र जित्दा नेपाली जित्ने भावनाको विकास हुने दिनको पर्खाईमा मजस्ता व्यक्तिहरु छन् भन्ने कुरामा दुई मत खासै नरहला।
बिम्बात्मक तथा व्यङ्यात्मक कोणबाट सामाजिक सञ्जाललाई कुरुप बनाउने जोसुकैको कार्यप्रति मेरो सहमति छैन। सद्भाव रहने गरी खुसी हुने र लोकतन्त्रको अभ्यासका रुपमा आफूलाई परिस्कृत गर्ने समय हो।
त्यसैले सामाजिक सञ्जालको दुरपयोग भन्दा पनि सदुपयोग गर्नुपर्ने आजको खाँचो होजस्तो लाग्छ। मैले एकपल्ट भनेकी थिएँ, प्रतिष्पर्धामा जित्ने र सिक्ने काम हुन्छ। हार्ने काम हुँदैन। आफ्ना ती हुन्, जसले आकाशमा उड्न दिँदैनन्।
आजलाई यति!
















प्रतिक्रिया