१४ कार्तिक २०८३, शनिबार

क्रस मतदान गर्दा धेरै मत बदर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । मतदाता शिक्षाको कमी र चुनावी तालमेलबारे दलहरूले आफ्ना कार्यकर्तालाई बुझाउन नसक्दा स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएका छन् ।

एउटै पदमा उठेका दुईभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएका, दुई लहरमा पूरै छाप लगाइएका, एउटै चुनावचिह्नमा धेरैपटक छाप लगाइएका थुप्रै मतपत्र भेटिएको मतगणनामा सहभागी अधिकारीहरू बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षाबारे मतदातालाई जानकारी नगराउँदा र दलहरूले तालमेलबारे मतदातालाई सम्झाउन नसक्दा ठूलो संख्यामा मत बदर भएको जानकारहरू बताउँछन् ।

‘मतदाता शिक्षा नपुगेको त हो नै, साथै दलहरूले चुनावी तालमेलबारे आफ्ना मतदातालाई सम्झाउन नसक्दा मत बदरको संख्या बढेको देखिन्छ’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णसँग भन्नुभयो ।

काठमाडौं महानगरपालिकाका मंगलबार रातिसम्मको गणनामा २० वटा मत पूरै बदर भएको पाइएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार दुई दिनको करिब १५ सय मतगणनामा ६ सयभन्दा बढी मत कुनै न कुनै रूपमा बदर भएका छन् जसमा मेयर पदमा २ सय ६२, उपमेयर पदमा ३ सय २० र वडा नम्बर १ मा वडाध्यक्षमा ४० मत बदर भएका हुन् ।

‘एक ठाउँमा संकेत गर्नुपर्नेमा मतदाताले दुई ठाउँमा मत संकेत गरेको भेटिएको छ’, अधिकारीले भन्नुभयो । उम्मेदवार नउठेका पदमा पनि मतछाप लगाइएको मतपत्र गणनाका क्रममा भेटिएको छ । रोचक पक्ष त ग्रामीण क्षेत्रभन्दा राजधानीमै बदर मतको संख्या ठूलो छ ।

काठमाडौंका मेयरका प्रत्यासी संघीय समाजवादी फोरमका उम्मेदवार पवित्र बज्राचार्यले सबैभन्दा बढी एमाले र राप्रपाको मत बदर भएको जानकारी दिनुभयो । ‘सूर्य र गाई दुवैका उम्मेदवारलाई छाप लगाएको मत धेरै छ’, उहाँले भन्नुभयो ।

यस्तै एमालेको सूर्यमा मत दिनेले विवेकशील पार्टीकी रञ्जु दर्शनाको स्टकोट तथा साझा पार्टीका किशोर थापाको क्यामेरामा पनि मतदान गरेका छन्’, उहाँले भन्नुभयो, ‘केही मत एमाले र हाम्रो पार्टीको चुनावचिह्न मसाललाई एक साथ दिएकाले पनि बदर भएका छन् ।’