भक्तपुर, १ जेठ । ‘व्यक्ति एक्लैको प्रयासले देश बदल्न कठिन छ । अनुहार हेरेर नहुने, व्यक्ति को कस्तो हुन्छ, के थाहा ? ‘ मध्यपुरठिमी नगरपालिकास्थित केन्द्रमा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आइतबार मत खसालेपछि २५ वर्षीया प्रीति श्रेष्ठले भन्नुभयो, ‘पार्टीमा सामूहिक शक्ति हुन्छ । पार्टीले बिचारेर उम्मेदवार उठाएको हुन्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
ठिमीसँगै सिमाना जोडिएको सूर्यविनायक नगरपालिकास्थित बालविनायक प्रावि केन्द्रमा मतदान गर्ने ७२ वर्षीय प्रेमबहादुर बिष्टको बुझाइ भने प्रीतिको भन्दा विपरीत छ । ‘अहिलेको समयमा पनि पार्टी हेरेर हुन्छ ? त्यो पनि स्थानीय निर्वाचनमा’, वडा नं २ का मतदाता उहाँले भन्नुभयो, ‘आजसम्म पार्टीलाई भोट दिएँ, औचित्य भएन । सबै लुछाचुँडीमै अल्झिरहे । अब त व्यक्ति हेर्नुपर्छ, स्थानीय विकासको सवाल छ ।’
२० वर्षपछि भएको स्थानीय निर्वाचनमा युवादेखि वृद्धवृद्धासम्म उत्साहित देखिए । गट्ठाघरस्थित बस स्ट्यान्डछेउमा एमालेबाट ठिमीका मेयरमा उठेका मदनसुन्दर श्रेष्ठको घरछेउमा राखिएको बमले भने बिहान ६ बजेदेखि झन्डै दुई घन्टा मतदातालाई त्रसित बनाएको थियो । सेनाको टोलीले दुईवटा सकेट बम डिस्पोज गरेको थियो ।
कक्षा १० पढेर छाडेकी मध्यपुरठिमी ७ की सुन्दरी श्रेष्ठले पहिलोपटक भोट हाल्नुभयो । उहाँलाई न कसैले भोट हाल्न सिकाए, न त सिक्ने वातावरण नै बन्यो । मतपत्र पाएपछि उहाँले पट्ट्याएर गोप्य मतदान स्थलमा खसाल्नुभयो । सुरक्षामा खटिएका प्रहरीले सिकाएपछि मतपत्र फुकाएर ल्याप्चे लगाउन खोज्नुभयो । मतदान अधिकृतले सिकाएपछि भोट हाल्नुभयो । उहाँलाई पनि पार्टीमा विश्वास थिएन । उहाँले भन्नुभयो, ‘सही व्यक्तिले देशलाई माया गर्छ । पार्टीले त भागबन्डा पुर्याउन जस्तो मान्छे पनि उठाउन सक्छ ।’ सुन्दरीसँगै भोट खसालेका ३३ वर्षीय सुरेन्द्र श्रेष्ठले थप्नुभयो, ‘एकपक्षीय हुन मिल्दैन । पार्टी र व्यक्ति दुवै हेरेर छानीछानी भोट हालेको छु ।’












प्रतिक्रिया