काठमाडौं, ३१ वैशाख । ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ (ओबर) कार्यक्रममा हस्ताक्षर गरेको भोलिपल्टै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग छिट्टै अन्य दुई सम्झौतामा पनि हस्ताक्षर हुने भएको बताएका छन् ।
चीन भ्रमणमा रहेका महराले शनिबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत कार्यक्रममा भने, ‘चिनियाँ सहयोगमा स्याप्रुवेसी–रसुवागढी सडक स्तरोन्नती र भूकम्पले विगारेका संरचनाको पुननिर्माणमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दैछु ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनले नेपाल(चीन अन्तरसीमा आर्थिक विकास सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने जानकारी दिए ।
यी सम्झौताहरुमा आइतबार बेइजिङमा महराले हस्ताक्षर गर्दैछन् ।
महराले ओबर समझदारीबाट नेपाललाई पूर्वाधार विकास, उत्पादन र लगानी विस्तार, पर्यटन र सांस्कृतिक प्रवर्दधनका क्षेत्रमा पूँजी, प्रविधि र विज्ञता भित्र्याउन सहयोग पुग्ने उनले बताए ।
समझदारी पत्रमा हस्ताक्षर गरेर ओबरसम्बन्धी शिखरमञ्चपछि नेपालजस्ता पूर्वाधारको विकासका ठूलो खाडल भएका मुलुकलाई न्यून लागतमा श्रोतसाधन जुटाउन सहज हुने अपेक्षा नेपालले राखेका पनि उनले बताए ।
खास गरी चीनको रेल तथा सडक यातायातसँग नेपाललाई जोडेर पर्यटन प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार पहुँचमा हासिल गर्न नेपालले छिटोछिटो धेरै काम गर्नुपर्ने बताउँदै अहिलेको अन्तरनिर्भर विश्वमा एक अर्काका प्रयासलाई जोडेर मात्र पर्याप्त लाभ लिन सकिने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया