१४ कार्तिक २०८३, शनिबार

पूर्वमन्त्री खड्कालाई ज्यान मार्ने अभियोगमा किटानी जोहरी, एमालेका उम्मेदवारले दिए उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, २८ वैशाख । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको छ । उनी एमालेका वडा सदस्य उम्मेदवार गोरे तमाङका छोरा हुन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

चुनावी अभियान सकेर फर्कंदै गरेका माओवादी र एमाले कार्यकर्ताबीच मंगलबार राति जुँगु–२ रेशमडाँडामा झडप हुँदा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार जुँगुको कसेरी गाउँबाट रेशमडाँडा आउँदै गरेका माओवादी कार्यकर्ताले स्थानीय लक्ष्मण जिरेलको होटेलअगाडि मोटरसाइकल सडकमा राखेर अवरोध गरेको आरोप लगाउँदै एमाले कार्यकर्तासँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप भएको थियो ।

एमालेले भने खाना खाइरहेका आफ्ना कार्यकर्तामाथि एकतर्फी आक्रमण गरिएको दाबी गरेको छ । मृतकका परिवारले माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री देवी खड्का, जिल्ला नेता विशाल खड्कासहित ३९ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा किटानी जोहरी दिएका छन् ।

घटनालगत्तै माओवादी केन्द्रका गौरीशंकर गाउँपालिका २ नम्बर वडाका अध्यक्षका उम्मेदवार भरत खड्काले एमालेनिकट शिक्षक दिलबहादुर बुढाथोकीलाई फोन सम्पर्क गरेका थिए ।

तत्कालै झडप भइरहेको स्थल नीलकण्ठेश्वर उमाविको प्रांगणतर्फ आउँदा बुढाथोकीलाई पनि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार भुइँमा पछारिएका तामाङलाई माओवादी केन्द्रका कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए । गम्भीर घाइते उनको चरिकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकका परिवारले माओवादी केन्द्रका नेताहरू देवी खड्का, विशाल खड्कासहित ३९ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा किटानी जोहरी दिएका छन् । घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि आठजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनाका विषयलाई लिएर एमाले दोलखाले विरोध जुलुस प्रदर्शन गरेको छ । सातदोवाटो स्थित एमाले पार्टी कार्यालयबाट निकालिएको सो जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै सिंगो बजार परिक्रमा गरी पुनः सातदोबाटोमा आई कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै एमालेका नेताहरू आनन्द पोखरेल लगायतले घटनाको घोर भत्र्सना गर्दै दोषी उपर तत्काल कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।