काठमाडौं, २७ वैशाख । सरकारले गाउँपालिका र नगरपालिकाका सात सय ४४ स्थानीय तहमा गर्ने कामहरूको ढाँचा एउटै बनाउने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कुनकुन काम कति दिनमा गरिसक्नुपर्ने हो, किटान गरेर सेवा दिने व्यवस्था गर्न लागेको हो ।विगतमा स्थानीय निकायमा एउटै काम पनि गाविस र नगरपालिकाबाट सम्पादन गर्दा ढाँचा, सेवाशैली, समय र प्रक्रिया फरक पर्दा सेवाग्राहीले धेरै दुःख पाएकाले संघीय व्यवस्थामा स्थानीय सरकारबाट सहज र प्रभावकारी सेवासुविधा प्रदान गर्न एउटै ढाँचा र काम सक्ने अवधिसमेत तोकिएको हो ।
मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखा प्रमुख रुद्रसिंह तामाङ संयोजकत्वको समितिले गाउँपालिका र नगरपालिकाका वडाबाट प्रदान गर्ने सेवासुविधाबारे तयार पारेका ६४ वटा कामको पहिचान गरेको छ ।तामाङले मंगलबार अन्नपूर्णसँग भन्नुभयो, ‘अब विगतजस्तो कुनै पनि सेवासुविधामा अलमल हुनेछैन । कुन कामका लागि केकति कागजात आवश्यक पर्छन्, सेवासुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया केकस्ता छन्, त्यो कामका लागि जिम्मेवार अधिकारी कोको हुन्, त्यसका लागि लाग्ने समय र दस्तुर केकति हो त्यो सबै किटान गरेका छौं ।’
गाउँपालिका र नगरपालिकाबाट अबदेखि घरजग्गा नामसारी, मोही लगतकट्टा, घर कायम, छात्रवृत्ति, विपन्न विद्यार्थी छात्रवृत्ति, अपांग सिफारिस, अस्थायी बसोबास, स्थायी बसोबास, नागरिकता प्रतिलिपि, अंगीकृत नागरिकता, आर्थिक अवस्था बलियो वा सम्पन्नता, आर्थिक कमजोर वा विपन्नता, विद्युत् जडान, धारा जडान, जन्ममिति संशोधन, जग्गा मूल्यांकन वा प्रमाणित, व्यवसाय बन्दको सिफारिसको काम सोही दिनै सम्पन्न गर्नुपर्ने छ ।
वडाध्यक्ष वा वडासचिवका साथै सम्बन्धित फाँटका कर्मचारीले गर्ने उक्त काम सर्जमिनको हकमा बढीमा पाँच दिनभित्रै सक्नुपर्नेछ । व्यापारव्यवसाय नभएको, व्यवसाय सञ्चालन नभएको, कोर्ट फि मिनाहा, नाबालकसम्बन्धी, चौपायासम्बन्धी, व्यवसाय दर्ता, उद्योग ठाउँसारी, विद्यालय ठाउँसारी, आन्तरिक बसाइँसराइ, विद्यालय सञ्चालन एवं कक्षा वृद्धि, व्यक्तिगत विवरण, जग्गा दर्ता, संरक्षक (व्यक्तिगत र संस्थागत), नेपाल सरकारको नाममा बाटो कायम, जीवितसँगको नाता प्रमाणित, मृतकसँगको नाता प्रमाणित, कोठा खोल्ने र रोहवरमा बस्ने कार्य, निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार, अन्य कार्यालयको मागअनुसार विवरण खुलाई पठाउने कार्य, संस्था दर्ता सिफारिस, घरबाटो प्रमाणितजस्ता कामको सिफारिस सोही दिन सम्पन्न गर्नुपर्नेछ ।
गाउँपालिका वा नगरपालिकाले सोही दिन सम्पन्न गर्नुपर्ने र सर्जमिनको हकमा बढीमा पाँच दिनभित्रै गर्नुपर्ने अन्य सेवा-सुविधामा चार किल्ला, जन्ममिति, विवाह, घर पाताल, कागज/मञ्जुरीनामा, हकवाला वा हकदार, अविवाहितजस्ता कामको प्रमाणित, जग्गा रेखांकनको काम, जग्गाधनी पुर्जा हराएको, पुर्जामा घर कायम गर्ने, नागरिकता वा निवेदनको अंग्रेजीको सिफारिस तथा प्रमाणित गर्नुपर्नेछ ।
यस्ता छन् स्थानीय तहमा दिने सेवा
घरजग्गा नामसारी सिफारिस
मोही लगतकट्टा सिफारिस
घर कायम सिफारिस
छात्रवृत्ति सिफारिस
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
अपांग सिफारिस
अस्थायी बसोबास सिफारिस
स्थायी बसोबास सिफारिस
नागरिकता प्रमाणपत्र सिफारिस
नागरिकताको प्रतिलिपि सिफारिस
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
विद्युत् जडान सिफारिस
धारा जडान सिफारिस
जीवित रहेको सिफारिस
व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्ममिति संशोधन सिफारिस
जग्गा मूल्यांकन सिफारिस/प्रमाणित
व्यवसाय बन्द सिफारिस
व्यवसाय सञ्चालन नभएको सिफारिस
व्यापारव्यवसाय नभएको सिफारिस
कोर्ट फी मिनाहा सिफारिस
नाबालकसम्बन्धी सिफारिस
चौपायासम्बन्धी सिफारिस
व्यवसाय दर्ता सिफारिस
उद्योग ठाउँसारी सिफारिस
विद्यालय ठाउँसारी सिफारिस
आन्तरिक बसाइँसराइ सिफारिस
विद्यालय सञ्चालन स्वीकृति/कक्षा वृद्धि सिफारिस
व्यक्तिगत विवरण सिफारिस/जग्गा दर्ता सिफारिस
संरक्षक सिफारिस (व्यक्तिगत)
संरक्षक सिफारिस (संस्थागत)
नेपाल सरकारका नाममा बाटो कायम सिफारिस
जीवितसँगको नाता प्रमाणित/सिफारिस
मृतकसँगको नाता प्रमाणित/सिफारिस
कोठा खोल्ने कार्य/रोहवरमा बस्ने कार्यको सिफारिस
निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस
कार्यालयको मागअनुसार विवरण खुलाई पठाउनुपर्नेको सिफारिस
संस्था दर्ता/सिफारिस
घर-बाटो प्रमाणित
चार किल्ला प्रमाणित
जन्ममिति प्रमाणित
विवाह प्रमाणित
घर पाताल प्रमाणित
कागज/मन्जुरीनामा प्रमाणित
हकवाला वा हकदार प्रमाणित/सिफारिस
अविवाहित प्रमाणित
जग्गा रेखांकनको कार्य/सो कार्यमा रोहवर
जग्गाधनी पुर्जा हराएको सिफारिस
पुर्जामा घर कायम गर्ने सिफारिस
अंग्रेजी भाषामा सिफारिस तथा प्रमाणित
मिलापत्र कागज/उजुरी दर्ता
एकीकृत सम्पत्ति कर/घर जग्गाकर
बहालकर
विज्ञापनकर
मालपोत/भूमिकर
जन्मदर्ता
मृत्युदर्ता
बसाइँसराइ जाने/आउने दर्ता
सम्बन्धविच्छेद दर्ता
विवाह दर्ता
नयाँ व्यवसाय दर्ता
व्यवसाय नवीकरण
उल्लिखितबाहेक अन्य स्थानीय आवश्यकताका सबैखाले सिफारिस/प्रमाणित












प्रतिक्रिया