काठमाडौं, २५ वैशाख । विगत आठ वर्षदेखि बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको छ । कम्पनीले आइतबारदेखि जीवनजल उत्पादन सुरु गरेको छ ।
सरकारी स्वामित्वको औषधि कम्पनी २०६६ सालदेखि पूर्णरूपमा बन्द थियो । यो कम्पनीले कुनै समय एक सय २० थरिका औषधि उत्पादन गर्थ्यो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले एक कार्यक्रमबीच बबहरमहलमा जीवनजल उत्पादन शुभारम्भ गर्नुभयो । स्थापना कालदेखि नै जीवनजल कम्पनीको महत्ववपूर्ण उत्पादन रहँदै आएको थियो ।
मन्त्रीको कार्यभार सम्हाले लगत्तै जोशीले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति लिएपछि औषधि उद्योगले पुनर्जीवन पाएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि र बढी प्रयोगमा आउने अत्यावश्यक औषधि उत्पादनमा जोड दिइने भएको छ । सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।
औषधि उत्पादन सुरु गर्न सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण कम्पनीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो किस्ताबापत ६ करोड ४८ लाख रुपैयाँ निकासा भएपछि कम्पनीले औषधि उत्पादन सुरु गरेको हो ।
कम्पनीले क्यालेन्डर बनाएर औषधि उत्पादन गर्न लागेको उद्योगमन्त्री जोशीले बताए । ‘कम्पनीले अत्यावश्यक, महँगो मूल्य पर्ने, पैसा हालेर पनि किन्न नसकिने गरी चार क्याटेगोरीका औषधि उत्पादनमा जोड दिनेछु, उनले भने, ‘एन्टी रेबिज, एन्टी भेनमजस्ता पैसाले पनि किन्न नपाइने औषधि पनि उत्पादन गर्छौं, २०७६ वैशाखसम्म उत्पादन गरिसक्ने डेडलाइन छ ।’
औषधि कम्पनीले आगामी तीन महिनाभित्र सिटामोल लगायतका नन पेनिसिलिन ग्रुपका ट्यावलेट उत्पादन गरेर बजारमा पुर्याउने लक्ष्य राखेको महाप्रबन्धक रोभसकुसुम सुवेदीले जानकारी दिनुभयो ।
यसका लागि नवीकरण र आवश्यक मेसिन खरिद गर्न ठेक्का सम्झौता गरी काम अगाडि बढाइसकेको उहाँले बताउनुभयो । कम्पनीले दोस्रो चरणमा अत्यावश्यक र बजारमा बढी खपत हुने १५ भन्दा बढी थरिका नयाँ औषधि उत्पादन गर्ने लक्ष्य लिएर काम अगाडि बढाइसकेको छ ।
त्यसपछि क्रमशः कम्पनीले क्याप्सुल, पेनिसिलिन ग्रुपका औषधि, झोल तथा मलम उत्पादन गर्ने महाप्रबन्धक सुवेदीले जानकारी दिनुभयो । ‘इन्ट्राभेनस फ्लुइड शाखासमेत सञ्चालनमा ल्याएर स्लाइन तथा हेमोडाइलाइसिस फ्लुइडजस्ता अति आवश्यक औषधि उत्पादनको काम पनि अगाडि बढाइरहेका छौ’, उहाँले भन्नुभयो ।












प्रतिक्रिया