१४ कार्तिक २०८३, शनिबार

कारबाहीमा परेपछि उपेन्द्र यादवले यस्तो दिए जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट बर्खास्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको बिजुलीबजारस्थित कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई पदबाट हटाई कारबाही गरिएको जनाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

संविधान संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलनरत २४ दलीय गठबन्धनले यादव नेतृत्वको फोरम नेपाल गठबन्धनको मुद्दा छाडेर स्थानीय तहको निर्वाचनमा सहभागी भएकाले संयोजकबाट हटाउने निर्णय गरेको हो ।

गठबन्धनको संयोजकबाट यादवलाई कारबाही गरेपछि राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संयोजक बनाइएको छ । बैठकले ठाकुरलाई सर्वसम्मत संयोजक चयन गर्दै संविधान संशोधनको मुद्दा अगाडि बढाउन जिम्मेवारीसमेत दिएको छ ।

‘संघीय गठबन्धनको निर्णय, मूल्य, मान्यता, सिद्धान्तविपरीत संघीय गठबन्धनका तत्कालीन संयोजक उपेन्द्र यादवले मधेसी–थारू, आदिवासी जनजाति, सिल्पी (दलित), मुस्लिम, उत्पीडितलगायत समुदायको मुद्दा विसर्जन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनको संयोजक समेतबाट हटाउने निर्णय गरिएको छ’, गठबन्धनका संयोजक ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गठबन्धनले उठाउँदै आएको मुद्दा पूरा गराउन ठाकुरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गठबन्धनमा सहभागी नेताहरूको छ ।

यसैगरी बैठकले गठबन्धनले अघि सारेका मुद्दाहरू एवं सरकारसँग भएको सहमतिबमोजिम संविधान संशोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ । संविधान संशोधन गरी निर्वाचनको वातावरण नबनाए गठबन्धनले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी सरकारलाई दिएको छ ।

यता फोरम नेपालका अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले गठबन्धनको बैठक नै नबसी ठाकुर गठबन्धनको स्वघोषित संयोजक बनेको दाबी गरेका छन् । गठबन्धनको बैठकपछि ठाकुरको हस्ताक्षरसहितको विज्ञप्तिमा यादवलाई कारबाही गरिएको सार्वजनिक भएपछि चौरसियाले गठबन्धनको दुरुपयोग भएको दाबी गरेका हुन् ।

‘संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताले षड्यन्त्रमूलक ढंगले गठबन्धनको दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ’, चौरसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैंले आफैंलाई संयोजक घोषणा गर्नु आफैंमा हास्यास्पद छ ।’

‘ठाकुरको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरूबीचको भावी सम्बन्ध कस्तो हुने ?, मधेसका जनताले यसलाई कुन रूपमा लिनेछन् ?, राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन्, जसको जवाफ राजपा अध्यक्ष ठाकुरले दिनुपर्नेछ’, यादवका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार गर्दै मधेसविरोधी शक्तिहरूलाई बलियो बनाउन राजपाले षड्यन्त्र गरिरहेको दाबी चौरसियाले गरेका छन् ।