काठमाडौं, १९ वैशाख । नेकपा एमालेले ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ भन्ने मुख्य नारासहित स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले ५३ बुँदाको ५२ पृष्ठ लामो घोषणापत्रमा विभिन्न महत्वाकांक्षी योजना समेटेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
एमालेले आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पु¥याउने घोषणा गरेको छ । ‘१० वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलरभन्दा बढी पु-याउँदै मुलुकलाई मध्यम आय भएका मुलुकहरूमा स्तरोन्नति गरिनेछ,’ घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी ओलीले भने, ‘आगामी २५ वर्षमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउँदै समाजवाद निर्माणको आधारलाई सुदृढ गरिनेछ ।’ मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, बाह्य सम्बन्ध, ठूला पूर्वाधार र परियोजनाहरू, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत सामाजिक क्षेत्र र आर्थिक विकासलाई गति दिने योजना छ ।
आगामी १० वर्षमा आर्थिक रूपान्तरण हुने र सम्पूर्ण नेपाली जनताको ऊर्जा आर्थिक विकासमा केन्द्रित गर्ने गरी देशको सम्पूर्ण क्षमता परिचालन गर्ने जनाउँदै एमालेले पटकपटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गरिनेछ ।
परनिर्भरताको अन्त्य
एमालेले परनिर्भरताको अन्त्य गर्न स्पष्ट योजना ल्याएको छ । उसले विगतमा चीनसँग गरिएका पारवहन र यातायात सम्झौता तथा रेलवे, सडक यातायात, पेट्रोलियम, ऊर्जा तथा सञ्चारसम्बन्धी समझदारीहरूको कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
छिमेकीसँग समानान्तर आर्थिक सम्बन्ध
भारत र चीन दुवैसँग आर्थिक सम्बन्धलाई नयाँ उचाइमा विकास गर्ने एमालेको घोषणा छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका स्रोतसाधन परिचालित गरी आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने एमालेले जनाएको छ । त्यस्ता आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था गरिने एमालेले बताएको छ ।
जताततै रेल
पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने एमालेले जनाएको छ । यसैगरी काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माण गर्ने एमालेको घोषणापत्रमा रहेको छ ।
जनताको जीवनस्तरमा ठूलो उन्नति र परिवर्तन गर्न एमालेले राजधानी उपत्यकामा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । १० वर्षभित्र बारामा अन्तर्राष्ट्रिय विमानस्थल र दुई वर्षमा भैरहवा र तीन वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने एमालेले जनाएको छ ।
महासागरमा जहाज
भूपरिवेष्टित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकारअनुरूप हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चलाउने योजना सार्वजनिक गरेको छ ।
वृद्ध भत्ता ५ हजार
एमालेको पहलमा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै सामाजिक सुरक्षा भत्तालाई मासिक ५ हजार रुपैयाँ पु¥याउने घोषणा एमालेले गरेको छ । यसैगरी, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता दिने, कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने एमालेले जनाएको छ । योगदानमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रमका माध्यमबाट संगठित क्षेत्रमा कार्यरत सबै श्रमिक तथा कर्मचारीहरूको स्वास्थ्य, शिक्षा, निवृत्तिभरणलगायत आवश्यकताहरूको पूर्ति गर्ने जनाएको छ ।
हुलाकी राजमार्गमा जोड
नेपाल आफैंले पाँच वर्षभित्र काठमाडौं–तराई द्रुत मार्ग सम्पन्न गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । तराई–मधेसको हुलाकी राजमार्गलाई आधुनिक सुविधायुक्त राजमार्गका रूपमा निर्माण सम्पन्न गर्ने र पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्ने एमालेको योजना छ ।
औद्योगिक करिडोर
इलामदेखि भित्री तराई तथा उपत्यका हुँदै डडेल्धुरासम्मको नयाँ औद्योगिक करिडोर बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने घोषणापत्रमा उल्लेख छ । तराईका सबै जिल्लामा पूर्व–पश्चिम राजमार्गदेखि नेपाल–भारत सिमानासम्म चार लेनका सडक निर्माण गर्नुका साथै हिमाली जिल्लाहरूका सदरमुकामदेखि चीनको सिमानासम्म दुई लेनका सडक बनाउने एमालेले जनाएको छ ।
हरेक तहमा उद्योगग्राम
आगामी १० वर्षमा नेपालको सम्पूर्ण उत्पादन गतिविधिलाई औद्योगीकरणमा समाहित गर्दै बृहद् औद्योगिक क्षेत्रका लागि एमाले नेतृत्वको पूर्ववर्ती सरकारले घोषणा गरेका सबै औद्योगिक क्षेत्रहरू स्थापनाको काम अघि बढाउने योजना सार्वजनिक गरेको छ । ‘निर्यातमूलक मुख्य उद्योगहरू यिनै औद्योगिक क्षेत्रमा स्थापना गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आकर्षित गर्न उद्योग स्थापना भएको पाँच वर्षसम्म विद्युत्, पानी र करमा विशेष छुट दिइने उल्लेख छ ।
पेट्रोलियम र फलाम खानी उत्खनन
पुराना औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरहरूमा रहेका उद्योगहरूलाई अत्याधुनिक रूपमा पुनर्निर्माण गरी सञ्चालन गर्न एमालेले प्रतिबद्धता जनाएको छ । मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापना गर्ने, दैलेखलगायतका स्थानमा पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानीको थप अन्वेषण गरी उपयोग गर्ने काम एमालेले गर्ने जनाएको छ ।
स्वदेशी उत्पादनमा जोड
यसैगरी, नेपाललाई आवश्यक औषधिहरूको उत्पादन गर्न उद्योगहरू स्थापना गरिने घोषणापत्रमा उल्लेख छ । स्वदेशी उत्पादनको प्रयोग गर्न जनतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता एमालेले जनाएको छ ।
राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण हुुने गरी शिक्षा क्षेत्रको पुनःसंरचना गरिने उल्लेख छ ।
उपत्यकामा तीन रंगशाला
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रंगशाला निर्माण गर्ने महŒवकांक्षी योजना एमालेले ल्याएको छ । यसैगरी, प्रत्येक प्रदेश सदरमुकाममा एक अत्याधुनिक साधन सम्पन्न खेलग्रामसहितका अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने, राजधानीमा एक खेलकुद विश्वविद्यालय र प्रदेश सदरमुकामहरूमा खेलकुदसम्बन्धी आवासीय विद्यालय तथा महाविद्यालय सञ्चालन गर्नेछ ।
६ महिनामा एकीकृत ग्राम
६ महिनाभित्र स्थानीय तहका सभाहरूले तोकेका स्थानमा सहरी केन्द्र र वडा समितिले तोकेका स्थानमा उपनगर वा एकीकृत ग्राम विकास गर्न गुरुयोजना निर्माण गरी आगामी दुई वर्षभित्र स्थानीय तहको सहरी केन्द्रमा जनप्रशासन भवन, सभा भवन, विभागीय भवन, विद्यालय–महाविद्यालय, एकीकृत सेवा केन्द्र, अस्पताल, सामुदायिक सेवा भवन र सुरक्षा चौकीहरू निर्माण गर्ने एमालेले जनाएको छ ।
आगामी पाँच वर्षमा स्थानीय तहमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खेलकुद, मनोरञ्जन, पर्याप्त स्वच्छ पिउने पानीको सुनिश्चितता हुने गरी आवश्यक पूर्वाधारको विकास गर्ने एमाले घोषणापत्रमा उल्लेख गरिएको छ ।
उपत्यका मेघा सहर
काठमाडौं उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री सहर बनाउने एमालेको योजना छ । एमालेको सरकार बनेको दुई वर्षमै राजधानी उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर मेगा सहर घोषणा गर्दै उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुना सहर बनाउने घोषणापत्रमा समेटिएको छ ।
स्याटलाइट सहर
काठमाडौं उपत्यकालगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशूली उपत्यका, मेलम्चीसमेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी बृहत्तर राजधानी क्षेत्र बनाउने एमालेको योजना छ । यी क्षेत्रहरूमा १० अत्याधुनिक स्याटलाइट सहर बनाउने एमालेले जनाएको छ ।
तीन वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कसपहरूलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।
उपत्यकामा तीन चक्रपथ
राजधानीमा भित्री, बाहिरी र बृहत् गरी तीनवटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिनेछ । राजधानीलाई विद्युत् तथा पिउने र धुने पानीको अभाव नहुने व्यवस्था सुनिश्चित गर्नुका साथै फोहोर, धुलो, हिलो र सबै किसिमका प्रदूषणबाट मुक्त गरिनेछ ।
कांग्रेस अस्थिर, माओवादी अराजक
एमालेको घोषणापत्रमा कांग्रेस र माओवादी केन्द्रप्रतिको आफ्नो धारणा स्पष्ट पारेको छ । कांग्रेसले पटकपटक बहुमत पाएर पनि कहिल्यै पूरा अवधि सरकार चलाउन नसकेर राजनीतिक अस्थिरता सिर्जना गरेको एमालेले बताएको छ । उसको नजरमा कांग्रेस नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र एकतामा आघात पुग्ने क्रियाकलाप गर्ने, राज्य शक्ति र स्रोतको दुरुपयोग गर्ने, निरपेक्ष निजीकरण र उदारीकरणका नाममा देशलाई परनिर्भर बनाउने, न्यायपालिका, प्रशासन र सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गरी राज्य संयन्त्रलाई कमजोर बनाउने शक्ति हो ।
यस्तै, नेपालको राजनीतिमा अराजकता, अस्थिरता र अवसरवादको पर्यायका रूपमा माओवादी केन्द्र देखा परेको एमालेको विश्लेषण छ । ‘माओवादीको जन्मदेखि हालसम्मका गतिविधिहरूले नेपाल राष्ट्रलाई कमजोर बनाउने र देशमा विभाजन, विग्रह र द्वन्द्व सिर्जना गर्दै नेपालको प्रगतिमा अवरोध उत्पन्न गर्ने काम गरेको छ,’ एमाले घोषणापत्रमा उल्लेख छ ।












प्रतिक्रिया