जनकपुरधार, १८ वैशाख । स्थानीय निर्वाचन अन्योलमा रहेका वेला नेपालका लागि अमेरिकी राजदूत अलेना बी टेप्लिट्स जनकपुर आइपुगेकी छिन् ।
आइतबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट जनकपुर आएकी राजदूत टेप्लिट्सले विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं मानवअधिकारकर्मीसँग छुट्टाछुट्टै भेटघाट गरेकी छिन् । उनले सुरुमा कांग्रेस, एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरूसँग भेटघाट गरेकी थिइन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
राजदूत टेप्लिट्सले स्थानीय निकाय निर्वाचनको अवस्था, मोर्चाको धारणा तथा स्थानीय जनताको चाहनालगायतका विषयमा जिज्ञासाराखेकी थिइन् ।
स्थानीय चुनावबारे चासो
कांग्रेस धनुषाका सभापति रामसरोज यादवले राजदूत टेप्लिट्ससँग स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको बताए । ‘उहाँले मोर्चाको सहमतिविना निर्वाचन भए उत्पन्न हुने परिस्थितिबारे जिज्ञासा राख्नुभयो,’ यादवले भने,’ मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्छ, अन्यथा निर्वाचनमा मानवअधिकारको अवस्था कस्तो होला भन्न सकिन्न ।’
मधेसका विषयमा सञ्चारमाध्यममा आइरहेका समाचारबाहेक मधेसको वास्तविक अवस्था बुझ्न राजदूत टेप्लिट्स जनकपुर आएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष झलकु यादवले बताए ।
आम मधेसी जनता मोर्चालाई सहमतिमै ल्याएर निर्वाचनमा गराउन चाहन्छन् । मधेसका नेताहरूले राजदूतसँगको भेटमा दलहरूको सहमतिविना चुनावको कुनै अर्थ नहुने धारणा राखेको उनले बताए ।
‘संविधान संशोधनले पनि माग पूरा हुँदैन’
राज्यले सहमतिका नाममा मधेसीलाई पटक–पटक ठग्दै आएको मोर्चाका नेताहरूले राजदूत टेप्लिट्ससँग धारणा राखेका थिए । उनीहरूले संविधान संशोधनले पनि मधेसीले चाहेको माग पूरा हुन नसक्ने बताएका थिए ।
राजदूत टेप्लिट्ससँग छुट्टै भेट गरेका मधेसी मोर्चाका नेताहरूले निर्वाचनको मिति नजिकिँदै गए पनि आफूहरूको निर्वाचनको तयारी शून्य रहेकाले निर्वाचनको मिति सार्नुको विकल्प नरहेको विचार राखे ।
मोर्चालाई बाइपास गरी निर्वाचन भए रक्तपातको अवस्था आउन सक्ने भएकाले यस विषयलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेको राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि परमेश्वर साहले बताए ।
राजदूत टेप्लिट्सले निर्वाचनको तयारी तथा सुरक्षाका विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चपागार्इँ र सुरक्षा अधिकारीहरूसँग कुराकानीसमेत गरेकी थिइन् ।












प्रतिक्रिया