काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस–फूटाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकास मन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् । पार्टी छाडे पनि केही हुँदैन ।’
‘यति करोड दिन्छु भन्दै सरकार देश बनाउने, चुनाव गराउने संविधान कार्यान्वयन गराउने नभएर पार्टीहरू ध्वस्त पार्ने, भ्रष्टाचार गर्ने, अनैतिक काम गर्ने काम भइरहेको छ’, ओलीले भने । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
ओलीले प्रश्न गरे, ‘करोड–करोड दिन्छु भन्छ सरकार, कहाँबाट ल्यायो त्यो पैसा ?’ ‘पैसा दिएर अर्को पार्टी फुटाउँछु भन्ने सरकारले यो गर्न पाउँछ कि पाउँदैन ?’ भन्ने प्रश्न उनले गर्दै भने, ‘राज्यले यस्तो गर्न पाउने कि नपाउने ? त्यसैले यो सरकार भ्रष्ट र अनैतिक हो ।’
पराइको हितमा आफ्नो राष्ट्रिय हितलाई धोका दिने वर्तमान सरकार आज सांसदहरू खोज्न देशका विभिन्न भागमा लागिरहेको आरोप ओलीले लगाए ।
सरकारले यस्तो अनैतिक कार्यप्रति माफी माग्नुपर्ने उनले बताए । मन्त्री दिन्छु पार्टी फुटा भन्ने ? सरकारले यस्तो अनैतिक काम गर्न पाउँछ भन्ने प्रश्न गर्दै ओलीले आवश्यक पर्दा आफूले प्रमाण पेस गर्ने दाबी पनि गरे ।
लोकतन्त्रको रक्षा एमालेकै काँधमा आइलागेको धारणा उनको थियो । ‘कांग्रेस बेहाल भएकै कारण कुनै दलबीच परसम्म देख्नै सकिरहेको छैन । देख्न चाहिरहेकै छैन । ऊ संकीर्ण, क्षणिक, आवधिक, तात्कालीक स्वार्थमा यति धेरै लागेको छ । ऊ यति जेलिएको छ अलि परसम्म देख्नै सक्दैन’, उनले भने ।
माओवादी केन्द्रलाई लक्षित गर्दै उनले भने, ‘ऊ तत्कालीन लाभ के हुन्छ, क्षणिक हित के हुन्छ, त्यसैमा केन्द्रित हुन्छ । हामी सबैलाई थाहा छ, संशोधनको प्रस्ताव सत्ता पक्षले दर्ता गरेको छ । हिजो हामीले पनि त्यसमाथि संशोधनहरू हालेका छौं ।’ अध्यक्ष ओलीको सम्बोधन सुनेपछि सांसदहरू आश्चर्य चकित परेका थिए ।












प्रतिक्रिया