रौतहट । निर्देशक देवेन्द्रराज पाण्डेको निर्देशन र निर्माता कपिल खत्रीको निर्माणमा धमाधम छायाँकन भइरहेको फिल्म ‘भिलेन’ले सुटिङको कार्यलाई आधाभन्दा धेरै सकेको छ ।
बिगत दुई हप्तादेखि रौतहटको चन्द्रनिगाहापुर आसपासका स्थानमा छायाँकन भइरहेको ‘भिलन’का केही दृष्य राजधानी र आसपासको क्षेत्रमा पनि गर्ने कार्यक्रम छ । फिल्मको छायाँकन चैत १८ गतेदेखि सुरु भएको हो । तराई र पहाडको मायाप्रेमलाई द्वन्द्व र कमेडीको मिश्रण गरेर फिल्म तयार हुने निर्देशक पाण्डेले बताए । भने, ‘अन्तरजातीय मायाप्रेमलाई एक्सन र कमेडीमा उतार्ने प्रयास भएको छ ।’
निर्माता कपिल खत्रीले पनि ‘भिलेन’को कथावस्तुले समाजमा मौलाउँदै गएको विकृति र विसंगतीलाई उजागर गर्ने प्रयास गरेको बताए । ‘मायाप्रेम जहाँ पनि हुन्छ’, उनले भने, ‘तराई र पहाडबीचको कथालाई फिल्मले समेट्न खोजेको छ ।’
‘भिलेन’मा नायक निखिल उप्रेती, नायिकाद्वय निशा अधिकारी र शिल्पा पोख्रेल तथा कपिल खत्रीसहितका कलाकारहरूको अभिनय रहेको छ ।
अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायाँकन, शुकराज शाहको द्वन्द्व निर्देशन रहेको ‘भिलेन’को कथा मौनता श्रेष्ठले लेखेका हुन् । ‘भिलेन’मा निर्देशक पाण्डे आफैले नृत्य निर्देशन गर्ने छन् ।















प्रतिक्रिया