काठमाडौं, १६ वैशाख । मादक पदार्थ सेवन र लेन मिच्नेलाई गरिने कारबाहीमा प्रहरीले ज्यादती गरेको गुनासो गर्नेको संख्या भने बढ्दै गएको छ । यसले ट्राफिक कारबाहीमाथि बलियो अनुगमन संयन्त्र जरुरी रहेको समेत देखाएको सरोकारवाला बताउँछन् । राजधानी दैनिकले समाचार छापेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मिङमार लामा लेन अनुशासन कायम गर्न ट्राफिक प्रहरी लागि परेको छ । उनका अनुसार हर्न निषेधपछि पैदल यात्रीले जथाभावी बाटो काटे २ सय रुपैयाँ जरिवाना गर्ने सम्मका योजना लेन अनुशासन कायम गर्न र बढ्दो दुर्घटना न्यूनीकरणकै लागि हुन् ।
शुक्रबार मात्र ट्राफिक प्रहरीले जेब्राक्रसबाहेक स्थानबाट बाटो काट्ने बटुवालाई दुई सय रुपैयाँसम्म जरिवाना गर्ने नियम अघि सारेको छ । यसको कडाइमा विगतमा उसले इमानदारिता देखाउन नसकेका कारण कार्यान्वयन हुनेमा शंका गर्ने ठाउँ भने प्रशस्त भएको ट्राफिककै तल्लो तहका अधिकृत बताउँछन् ।
फुटपाथबाट हिँड्न प्रेरित गर्न पैदलयात्रीलाई जरिवाना गर्नुपरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि पनि ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेलाई फलफूल उपहार दिने, केही छिन रोकेर ट्राफिक नियमबारे जानकारी दिनेलगायत कार्यहरू गर्दे आए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।
हर्न निषेध अभियानलाई सरकारले समेत आफ्नो उपलब्धि ठानेको छ । हर्न निषेध अभियानको पहिलो एक सातामा १७ सयभन्दा बढी सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट १ लाखभन्दा बढी राजस्व संकलन भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २ देखि ७ वैशाखसम्ममा १७ सय १७ जना हर्न बजाएको अभियोगमा कारबाहीमा परेका छन् । कारबाहीबाट १ लाख २० हजार ४ सय ७९ रुपैयाँ राजस्व उठेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रहरी नायब महानिरीक्षक लामाले हर्न निषेध अभियान लागू गरिएपछि काठमाडौं उपत्यकामा हर्नको आवाजमा ९५ प्रतिशत कमी आएको दाबी गरे ।हर्न निषेध अभियानपछि महाशाखाले सडकमा जथाभावी हिँड्ने तथा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कडाइका साथ कारबाही गरेको छ ।
सडक विस्तारकै क्रममा सडक जाम हुन थालेपछि काठमाडौंमा सवारीजामलाई कसरी समाधान गर्न सकिन्छ भनेर ट्राफिक प्रहरीले ड्रोन क्यामेराको समेत प्रयोग गरिरहेको छ । ट्राफिक प्रहरी महाशाखालाई एनएमबी बैंकले एउटा ड्रोन हस्तान्तरण गरेपछि महाशाखाले व्यवस्थापनलाई प्रविधिसँग जोडेको हो ।
प्रहरीले ड्रोन चलाउन चार जनालाई तालिम दिएको छ । उनीहरूमध्ये एकजनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारीजामको निगरानी गर्छन् । पिक आवरमा उपत्यकामा सवारी जाम भइरहेका स्थानमा ड्रोनले खिचेर त्यसको विश्लेषणबाट ट्राफिक व्यवस्थापनमा सहज बनाइने महाशाखाले जनाएको छ । विषेश गरी कार्यालय समयमा बढी चाप हुने स्थानहरूमा ड्रोनको प्रयोग गरिने महाशाखाले जनाएको छ ।
लेन अनुशासन कायम राख्न थालिएको अभियानबाट एक वर्षको अवधिमा राजधानीमा साढे पाँच लाख सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले अघिल्लो वर्ष १ करोडभन्दा बढी जरिवाना संकलन गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा उपत्यकामा ५ लाख ४८ हजार ४ सय ७० जना चालक कारबाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्षमा भन्दा यस वर्ष कम कारबाहीमा परेका छन् ।












प्रतिक्रिया