काठमाडौं, १५ वैशाख । एमाले नेतृत्वको आठ दलको विपक्षी गठबन्धनले संविधान संशोधनको पक्षमा दुईतिहाइ बहुमत पुग्न नदिने गृहकार्य थालेको छ । विपक्षी गठबन्धनको बिहीबारको बैठकले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ पुग्न नदिन सबै प्रयास गर्ने निर्णय गरेको हो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
‘संविधान संशोधन विधेयक पारित हुन नदिन सबै प्रयास केन्द्रित गर्ने निर्णय भएको छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘विधेयक पारित गर्न सत्तापक्षले दुईतिहाइ पु¥याउनुपर्ने हो । हामीले मत हाल्ने होइन । हाम्रो मत सुरक्षित गर्न सबै खालको प्रयास गर्छौँ । हामीसँग एकतिहाइ छँदै छ ।’
विपक्षी गठबन्धनमा नौ दल रहे पनि बिहीबारको बैठकमा भने एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, दलित जनजाति पार्टीसहित ६ दलका नेताहरू मात्र सहभागी थिए । नेपाः पार्टी र मधेस समता पार्टीका नेता सहभागी थिएनन् भने शिवलाल थापा नेतृत्वका राष्ट्रिय जनमुक्ति पार्टी भने विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपालसँग एकीकरण भइसकेको छ । तर, दुई पार्टीका प्रतिनिधि अनुपस्थित रहे पनि विपक्षी गठबन्धनमै रहेको एमालेको दाबी छ ।
गठबन्धनबाट बाहिरिने परिवार दलको संकेत
विपक्ष गठबन्धनलाई साथ दिँदै आएको परिवार दलले बिहीबारको बैठकमा फरक मत राखेर सत्तापक्षसँग निकट हुने प्रस्ट संकेत गरेको छ ।
‘अहिलेको संशोधन विधेयक अघिल्लोभन्दा पनि अझ पछाडि फर्केर ल्याइएकाले समर्थन गर्न नसकिने भन्दै विपक्ष गठबन्धन कसिलो बनाएर जानुपर्ने धारणा एमालेको थियो,’ गठबन्धनको बैठकपछि परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, ‘हामीले मुलुकलाई निकास दिन र निर्वाचनको माहोल बिग्रिन नदिन मधेसकेन्द्रित दललाई पनि साथमा लिएर जानुपर्ने स्थिति रहेकाले एमालेसहित विपक्षी गठबन्धनले हाल्ने संशोधनलाई पनि मिलाउने गरी पारित गरेर जाँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्यौँ ।’













प्रतिक्रिया