१४ कार्तिक २०८३, शनिबार

बजेटपछिको चुनाव एमालेले मान्ला ? ओलीको जवाफपछि प्रचण्ड तनावमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा पर्नुभएको छ । बजेट ल्याउन प्रतिपक्षको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको एजेन्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उहाँ सकसमा पर्नुभएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि थुप्रै कुरा राख्ने, त्यसैलाई प्रचार गर्दै जाने कुरा एमालेलाई स्वीकार्य हुँदैन’, प्रधानमन्त्री दाहालसँग आफ्नै निवास बालकोटमा भेटेपछि ओलीले भन्नुभयो ।सरकार जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसँग शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था परिवर्तन गरी असार दोस्रो साता बजेट ल्याउने व्यवस्था गर्ने, जेठ १५ गते बजेटका सैद्धान्तिक पक्ष मात्रै राखेर असार दोस्रो साता औपचारिक बजेट प्रस्तुत गर्नेजस्ता विकल्पमाथि उच्च तहमा छलफल भइरहेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पनि यसबारे अनौपचारिक छलफल भएको थियो । संविधानमा भएको व्यवस्थालाई मन्त्रिपरिषद्ले फेरबदल गर्न सक्दैन । ‘जेठ ३१ गते चुनाव गर्ने हो भने त्योभन्दा अगाडि बजेट ल्याउन पाइँदैन’, ओलीले प्रधानमन्त्री दाहाललाई प्रस्ट जवाफ दिनुभएको छ ।

स्रोतका अनुसार मधेसी मोर्चा र संघीय गठबन्धनसँग शनिबार छलफल हुँदा वैशाख ३१ को चुनाव दाहाल नेतृत्वको सरकारले गर्ने र जेठ ३१ को चुनाव कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्नेबारे पनि छलफल भएको थियो । तर, त्यो छलफल कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री दाहाल दुवै चरणका चुनाव आफ्नै नेतृत्वमा गराउन चाहनुहुन्छ र बजेट पनि आफ्नै नेतृत्वको सरकारले ल्याउन चाहनुहुन्छ’, माओवादी केन्द्रका एक मन्त्रीले भने, ‘प्रतिपक्षको विश्वासमा लिनुपर्ने चुनौती छन् ।’ती मन्त्रीका अनुसार बजेट कसरी र कहिले ल्याउने भन्नेबारे उच्चस्तरीय राजनीतिक समझदारी बन्नुपर्ने देखिएको छ । संविधान संशोधन, दुई चरणको निर्वाचन, बजेट ल्याउने समय र विधि, मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयनमा एमालेको लचिलोपन खोज्न प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवासमा पुग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटका लागि संविधान संशोधन गर्ने प्रस्तावमाथि आइतबार आफ्नो पार्टीभित्र छलफल गराउनुभएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आइतबार बालुवाटारमा बसेको बैठकमा बजेटका लागि संविधान संशोधन गर्ने विषयमा छलफल भएको हो ।