२ कार्तिक २०८३, सोमबार

गायिका भावना आचार्यको यसरी बनेको हो नयाँ पहिचान

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘स्कूले जीवनदेखि नै म गीतसंगीतको शौखिन हुँ’, यो भनाइ हो गायिका भावना आचार्यको । सानै उमेरदेखि गाउँघर, स्कूल र राजनीतिक दलहरूले गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी भएर भावनाले धेरै प्रशंसा पनि पाइन् । उनले लोक तथा दोहोरी गीतका थुप्रै प्रतियोगितामा भाग लिएकी छिन् ।

दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १० निवास भावनालाई गीतसंगीतको क्षेत्रमा लाग्न सुरुवाती दिनमा कसैले सहयोग नगरेको तितो अनुभव छ । ‘बाबाआमाले छोरीले धेरै पढेर राम्रो जागिर गरोस् र घरजम गरेर बसोस भन्ने सोँच्नु भएको थियो । अभिभावकहरूयो सोँचाइ नराम्रो होइन’, भावनाले ती दिन सम्झदै भनिन्, ‘मेरो इच्छा अध्ययनका साथै गीतसंगीतमा केही गरौँ भन्ने थियो ।’

अहिले आफूले गीतसंगीतको क्षेत्रमा गरेको प्रगतिबाट बाबुआमा खुसी नै रहेको उनले बताएन् । सुरुका दिनमा आफूलाई निकटका साथीले बाहेक कसैले पनि गीतसंगीतमा लाग्न हौसला नदिएको उनले सुनाइन् ।

विवाहका लागि बाबाआमाले अन्तिम तयारी गर्दै गर्दा भावनाले त्यसको प्रतिवाद गरेकी थिइन् । त्यसपछि उनको विवाहको कुरा त्यत्तिकै सेलायो । उनी १९ वर्षको हुँदै गर्दा विवाहको कुरा पटक–पटक चलेको थियो ।

दुई वर्ष अगाडि राजधानी प्रवेश गरेकी भावनाको अहिले पहिचान फेरिएको छ । गाउँघरकी भावना अहिले गायिका बनेकी छिन् । उनको नामको अगाडि गायिका थपिएको छ । दुई वर्षको दौरानमा १५ भन्दा बढी गीतहरू गाइसकेकी छिन् । ‘गाउँबाट आएकी मलाई सुरुमा कसले गीत गाउन दिन्थ्यो र ?’, संघर्षका दिन स्मरण गर्दै भावनाले भनिन्, ‘अब मलाई धेरैले चिन्नु हुन्छ । गाउन पनि दिनु भएको छ । अहिले मेरो स्वर र मिहिनेतप्रति विश्वास गर्न थाल्नु भएको छ ।’

भरखरै रामजी खाँड र आफ्नो स्वर रहेको ‘माया बस्ला फेरि…’ बोलको गीत रेकर्ड गराएकी छिन् । यो गीतको लय, शब्द शिव हमालको हो । म्युजिक भिडियो समेत बनाइ सकेकी भावनाले भनिन्, ‘मलाई मेरा सबै गीतहरू राम्रो लाग्छन् । रामजी खाँडसँग गाएको यो गीतबाट अलिक धेरै आशा लिएकी छु ।’ ‘माया बस्ला है…’ले यूट्युबमा दर्शकको माया पाउँदै गरेको उनले बताइन् ।

रामचन्द्र काफ्ले, टीका पुन, रामजी खाँड, कालीप्रसाद बास्कोटा, स्मृति शाहीको स्वर भावनालाई मन पर्छ । भन्छिन्, ‘उहाँहरूको गायन शैली र स्वरमा उस्तै राम्रो छ ।’ भावनालाई गायक एवम् नायक बाबु बोगटी पनि मन पर्दो रहेछ । भनिन्, ‘बाबु बोगटीको गीतहरू मन पर्छ । उहाँले खेलेका फिल्महरू पनि मन पर्छन् ।’

गायिका भावनाले तीज पर्वलाई लक्षित गरेर तयारी सुरु गरिसकेकी छिन् । ‘यसपटक समयमै गीत रेकर्ड गराएर म्युजिक भिडियो ल्याउँछु’, उनले भनिन् ।