काठमाडौं, ७ वैशाख । दिनरात सत्ता लम्व्याउने कसरतमा लागिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सम्बन्ध विगार्नु परेमा नेता नारायणकाजी श्रेष्ठलाई प्रयोग गर्ने योजना बनाएका छन् ।
नारायणकाजी श्रेष्ठ समूहलाई नजिक बनाएर रामबहादुर थापासहितको समूहलाई चिढ्याउँदै पार्टीभित्रको आन्तरिक समस्या देखाएर प्रचण्ड सत्ता लम्व्याउने षड्यन्त्रमा लागेका हुन् । उनी योजना अनुसार सफल पनि भएको माओवादीमा चर्चा छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रचण्डले नारायणकाजीलाई देखाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवासँग बार्गेनिङ गर्न लागेको कांग्रेसी नेताहरूको भनाई छ ।
स्रोतका अनुसार प्रचण्ड चुनाव भए पनि नभए पनि नयाँ बजेट ल्याएर असारको पहिलो हप्तासम्म सत्ताको नेतृत्व सम्हाल्ने तयारीमा रहेका छन् ।
माओवादी स्रोतका अनुसार तत्काल प्रचण्डले सत्ता छाड्ने कुनै अवस्था नरहेको र सबै चुनावहरू सकेर मात्रै कांग्रेसलाई नेतृत्व दिने दाबी गर्दै आएका छन् ।
जे होस् माओवादीले पार्टीभित्रको आन्तरिक विवाद, मधेसी मोर्चाको असन्तुष्टि र निर्वाचन जस्ता कुराहरूलाई अलमलमा पारेर प्रचण्डले सत्ता लम्व्याउने कूटिल चाल चलेको आरोप छ ।
सत्ताका लागि हरेक छिद्र कुरेर बसेका एमालेका नेताहरू प्रचण्ड वा शेरबहादुर देउवामध्ये एकलाई हातमा लिएर अगाडि बढ्ने योजनामा छन् । यदि माओवादीले कांग्रेसको साथ छाडेर एमालेको पिछलग्गु भयो भने त्यसको सबैभन्दा ठूलो घाटा माओवादीलाई नै हुनेछ ।












प्रतिक्रिया