१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारी भारत प्रस्थान, विमानस्थलमा भव्य विदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणका सिलसिलामा भारत प्रस्थान गरेकी छन् ।

आज विहान राष्ट्रपति भण्डारीको ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण तथा उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरे ।

भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको उडानबाट भारत प्रस्थान गरेकी हुन् ।

भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायत छन् ।

राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले १७ कात्तिकमा नेपालको राजकीय भ्रमण गरेका थिए । नेपाल भ्रमणकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले भण्डारीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

यस्तो छ कार्यतालिकाः

भ्रमणका बेला राष्ट्रपति भण्डारी दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछिन् । भ्रमणको पहिलो दिन ४ वैशाखमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दिल्ली भ्रमणका क्रममा उनलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ (सलामी) अपर्ण गर्ने कार्यक्रम छ । वैशाख ५ गते भारतीय राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा सहभागी भएको बेला राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर प्रदान गरिनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सत्तारूढ दल भाजपाका साथै विपक्षी कांग्रेसका उच्च नेतृत्वसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको समेत भ्रमण गर्ने कार्यतालिका छ । राष्ट्रपति भण्डारी वैशाख ८ गते स्वदेश फर्कनेछिन् ।