१ कार्तिक २०८३, आइतबार

एमालेलाई एक नम्बर पार्टी बनाउने यस्तो छ युवा संघको भित्री तयारी

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अंकुश कुँवर

बैशाख ३१ गते हुन लागेको चुनावी माहौल थपिँदै गएको छ । तर, देश संघीय संरचनामा गइसकेकाले यसपटक त्यहीअनुसार स्थानीय तहको चुनाव हुनेछ । स्थानीय तहमा आफ्नो बर्चस्व कायम गर्न राजनीतिक दलहरु सक्रिय भइसकेका छन् । कुनै दलले पहिलो कुनैले दोस्रो, तेस्रो र चौथो स्थान हाँसिल गर्ने दावी गर्दै आएका छन् । जहाँ युवाको भूमिका महत्वपूर्ण छ । तसर्थ, आगामी चुनावमा युवाको प्रतिनिधित्व र भूमिका कस्तो हुन्छ भन्ने विषयमा नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालका अध्यक्ष राजीब पहारीसँग दैनिक नेपालले बुझ्ने प्रयास गरेको छ :

स्थानीय तहमा युवा नै किन ?

आगामी बैशाख ३१ गते २० बर्षपछि स्थानीय तहको चुनाव हुँदैछ । यो निकै लामो समय हो । पहिलाको स्थानीय निकायको चुनाव भन्दा अहिलेका स्थानीय तहको चुनाव हरेक हिसाबले शक्तिशाली छ । जहाँ जनताको प्रत्यक्ष संलग्नता रहन्छ । स्थानीय तहका प्रमुख वा अध्यक्ष भनेका त्यहाँका प्रधानमन्त्री हुन् भने वडा अध्यक्ष मन्त्री हुन् । उनीहरुले आफ्नो तह सञ्चालन गर्ने सम्पूर्ण अधिकार प्राप्त गर्नेछन् । सिंहदरबारको अधिकार प्रत्यायोजित गरिनेछ । अधिकार प्रत्याजित हुने वित्तिकै जनताले सहज रुपमा सुविधा पाउनेनै भए । यो अबको संरचनाबाट प्राप्त हुने अधिकारको कुरा ।

अधिकार प्राप्तिको लडाई सकिएकाले अब समृद्ध नेपाल निर्माणको काममा हामी छौं । बाँकी रहेको काम पूरा गर्ने जिम्मेवारी अब युवाको काँधमा आउँछ । हामीले आफ्नो पार्टी नेकपा एमालेलाई पनि अब स्थानीय तहमा युवालाई स्थान दिइनुपर्छ भनेर भनेका छौं । जुन तहमा बढी भन्दा बढी युवाहरुको सहभागिता होस् । यस कुरामा अन्य पार्टीहरुले पनि ध्यान दिउन्, दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

हाम्रो संगठनको हकमा भन्ने हो भने हाम्रो मान्यना भनेकै १८ वर्षदेखि ४५ वर्षसम्मका युवाहरुलाई स्थानीय तहमा स्थान दिनुपर्छ भन्ने छ । बाँकी ४५ देखि ५५–६० वर्षका व्यक्तिहरुलाई प्रदेशमा र त्यो भन्दा माथिका व्यक्तिहरुलाई केन्द्रीय तहमा स्थान दिइनुपर्छ । स्थानीय तह अन्तर्गत दैनिक रुपमा हुने दौडधुपका काममा उर्जावान युवाहरुले मात्रै गर्छ सक्छ । त्यही भएर स्थानीय तहमा युवालाई स्थान दिनुपर्छ भन्ने हाम्रो माग हो । प्रदेश र केन्द्रमा अनुभव भएका व्यक्तिहरुको प्रतिनिधित्व भएमा उनीहले नीति निर्माण तथा योजनाहरु बनाउन सक्छन् । यस्तो गरे व्यवस्थित र बैज्ञानिक हुनुका साथै विकासले पनि गति लिने निश्चित हो ।

एमालेसँग अपेक्षा

आगामी चुनावमा युवा सहभागिताको लागि हामीले पार्टीभित्र पनि आन्तरिक रुपमा लबिङ गरिरहेका छौं । यस विषयमा हामीले पार्टीका सबै नेताहरुलाई भेटिसकेका छौं । हामीले चुनावमा कम्तीमा पनि ४० प्रतिशत युवाहरुले स्थानीय तहमा भाग लिन पाउनुपर्छ भनेर पार्टीका कार्यबाहक अध्यक्ष वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएका छौं । पार्टीको घोषणापत्रमै उल्लेख गर्न लगाएका छौं । हामीले यो कुरालाई जोडदार रुपमा उठाइरहेका छौं । नेकपा एमाले भनेको युवामुखी पार्टी हो । जसले आन्दोलनका कार्यक्रमको मात्रै नेतृत्व गर्दैन । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि युवा संघको संस्थापक नै हुनुहुन्छ । युवालाई कस्तो जिम्मेवारी दिनुपर्छ भन्ने कुरा उहाँलाई स्वयम जानकार हुनुहुन्छ । आवश्यकताअनुसार जिम्मेवारी दिने कुरामा उहाँ र सिंगो पार्टी पछि पर्दैन भन्ने हामीले विश्वास लिएका छौं ।

हामी एमालेले स्थानीय तहमा कम्तीमा पनि ४० प्रतिशत युवाहरुलाई स्थान दिनेमा विश्वस्त छौं । हामीले युवामुखी कार्यक्रमहरुलाई जोड दिन पार्टीलाई सचेत पनि गराइरहेका छौं ।

युवा सँधै अगाडि

नेकपा एमालेले युवालाई जिम्मेवारी दिनेमा कहिल्यै कन्जुस्याई गरेको देखिँदैन । आगामी निर्वाचनमा पनि त्यो कायम रहन्छ । तर, आउने निर्वाचनमा नेकपा एमालले मात्रै युवालाई स्थान दिएर पुग्दैन । यसले युवाको प्रतिनिधित्वलाई पूर्णता दिन सक्दैन । युवालाई नेतृत्व दिन सबै दलहरु गम्भीर बन्नुपर्छ ।

चुनावमा जुन दलले जिते पनि अन्तमा युवाले नेतृत्व पाउनुपर्छ भन्ने मनसाय सबै पार्टीपंक्तिले बनाउन आवश्यक छ । युवाहरुको प्रतिनिधित्व होस् भन्ने ढंगबाट हामी सबै पार्टीका युवा संगठनहरुसंग सहकार्य गरेर अगाडि बढ्दै छौं ।

आफ्नो तयारी

म अहिले युवा संघको अध्यक्ष पनि हुँ । २५/२६ वर्षको उमेरदेखि संगठनमा पूर्ण रुपमा लागिरहेको छु । सबैलाई थाहा छ यसअघिका युवासंघका व्यक्तिहरुले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ । संघका संस्थापक अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँले देशको नेतृत्व पनि गर्नुभएको छ । उहाँ पछिका युवा संघका अध्यक्षले पनि कुशलतापूर्वक महत्वपूर्ण जिम्मेवारी वहन गर्नुभएको छ ।

युवाहरुलाई जिम्मवारी दिनुपर्छ भन्ने कुरामा पार्टी पछि पर्दैन । म पनि पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु । मेरो क्षेत्र पोखरा महानगरपालिका हो । त्यहाँको जिम्मेवारी पाएमा म कुशलतापूर्वक निर्वाह गर्छु । मैले यसअघि एकपटक देशकै सबैभन्दा ठूलो क्याम्पसमा मात्रै चुनाव लडेको छु । जहाँ म स्ववियु सभापतिमा निर्वाचित पनि भएको थिएँ । देशभरका क्याम्पसहरुको नमुना सभापति पनि भएँ । अझै पनि जिम्मेवारी पाएमा पोखरा महानगरपालिकाको मेयर बन्ने पक्का हो । किनकी त्यो क्षेत्रमा मेरो अझै पनि स्ववियु चुनाव जित्ने समयको भन्दा कम पकड छैन ।

‘वान बुथ, हण्ड्रेड युथ’

पार्टीको मेरुदण्ड भनेको नै युवाशक्ति हो । पार्टी पनि युवाहरुकै भरमा चलिरहेको हुन्छ । चुनावमा पनि बढी भूमिका हुने भनेकै युवाको हो । आउने स्थानीय चुनावमा युवा नेतृत्वले स्थान पाउने भएकाले पनि यतिबेला युवा बढी सक्रिय भएका छन् । नेकपा एमालेले पनि आगामी चुनावलाई आफ्नो पक्षमा पार्न युवाहरुलाई बढी परिचालन गर्ने तयारी गरेको छ ।

हामीले युवाहरुलाई परिचालन गर्नका लागि ‘वान बुथ, हण्ड्रेड युथ’ अर्थात एक बुथमा एक सय जना युवाहरुलाई परिचालन गर्ने भनेका छौं । त्यहीअनुसार युवाहरु पनि आफूले पाउने जिम्मेवारीमा कटिबद्ध भएर लाग्नेछन् । जसले सम्पूर्ण रुपमा चुनाव सम्पन्न गर्न सहजता पनि हुनेछ ।

चुनावमा एमालेको स्थान

आगामी दिनमा एमालेको स्थान कहाँ हुन सक्छ भन्ने कुरा सबैले अनुमान गरिसकेकै होला । विपक्षी पार्टीलाई अब एमाले पहिलो स्थानमा आउँछ भन्ने ठूलो चिन्ता परिसकेको छ । अहिलेनै थाहा हुन्छ कि स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति हो ।

संविधान निर्माणका क्रममा एमालेले खेलेको भूमिका, राष्ट्रियताप्रतिको अडानलगायतका कारण एमालेको उचाई निकै बढेको छ । एमालेप्रतिको जनलहर बढेको छ । देशका विभिन्न ठाउँमा पार्टी प्रवेश गर्ने व्यक्तिको लाइन लागिरहोके छ । अब कसैले पनि एमालेलाई पहिलो पार्टी बन्नबाट रोक्ने छैन । स्थानीय तहको चुनावमा एमालेले दुई तिहाई स्थानमा जित हाँसिल गर्ने पक्का हो । त्यही ढंगबाट पार्टी पक्ति लागिरहेको छ ।