७ मंसिर २०८३, सोमबार

उपेन्द्र र बाबुरामबीच कहाँ अड्कियो वार्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच पार्टी एकताको कुरा दुई हप्तायता अलि जोडतोडले उठेको छ ।

दुई दलबीच बेलाबेला एकीकरणका लागि वार्ता हुँदै आएका पनि छन् । तर, पार्टी एकीकरणको विषयले अझै कुनै पनि टुङ्गो पाउन सकेको छैन । कुरा नमिल्नुमा एकीकृत पार्टीको नेतृत्वलाई लिएर अलि धेरै विवाद रहेको स्रोतको भनाइ छ ।

एकता प्रक्रिया अन्तिम चरणमा पुगे पनि नेतृत्व, वरीयता, पार्टीको नाम र झन्डा जस्ता विषयमा कुनै सहमति नभएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए । ‘अर्थहीन चर्चामा रमाउने केही तत्वले आफू निकटका मिडिया र पत्रकारलाई दुरुपयोग गरी एकीकृत पार्टीको अध्यक्षमा ‘फलानो’ व्यक्ति चयन भयो भन्दै जनतामा भ्रम फैलाउनु अत्यन्तै गैरजिम्मेवार कार्य हो’, सल्लाहकार चौरसियाको भनाइ छ ।

उनले भने, ‘नेतृत्वले सहमतिमा निर्णय गर्ने हो, प्रायोजित समाचार हेरेर होइन । यस्ता उत्ताउलो हर्कतले एकता प्रक्रियालाई गम्भीर असर पर्छ ।’

विशेष गरेर नयाँशक्ति पार्टी नेपालका तर्फबाट पार्टी एकीकरणमा देखाइएको चासो र चिन्तालाई संघीय समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको छ । तर, बाबुराम भट्टराई पक्षधरले सहमति नै नभएका विषयलाई मिडियामा ल्याइएकोप्रति संघीय फोरमको आपत्ति छ ।
यस्तै अवस्था रहेमा बाबुराम भट्टराईसँगको पार्टी एकता बीच बाटोमा तुहिन सक्ने चेतावनी पनि आउन थालेका छन् ।

निर्वाचनमा नयाँशक्ति पार्टीसहितका दलहरूलाई निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवार उठाउने बाध्यता आइपरेपछि पार्टी एकताका नाममा बाबुराम भट्टराई पक्षधरले नचाहिँदो प्रचार गरेको संघीय समाजवादी फोरमको बुझाइ छ ।

बाबुरामसँग गंगा चौधरी मात्रै सांसद छिन् । उपेन्द्र यादवसँग थुप्रै सांसद छन् । राष्ट्रिय राजनीतिमा उपेन्द्र यादवले ठूलो महत्व राख्छन् । तर, बाबुराम त्यति चर्चामा छैनन् । यस्तो अवस्थामा बाबुरामले उपेन्द्रको नाम भजाउनु स्वभाविक रहेको टिप्पणी गर्नेहरू थुप्रै छन् । पार्टी एकीकरणपछि बाबुरामले उपेन्द्र यादवलाई अध्यक्ष मान्नुपर्ने संघीय समाजवादी फोरमका नेताहरूको आग्रह छ ।