७ मंसिर २०८३, सोमबार

देश टुक्र्याउने षड्यन्त्र भइरहेको छ : देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले देश टुक्र्याउने षडयन्त्र भइरहेको बताएका छन् ।

पोखरामा प्रदेश नं. ४ स्तरीय पार्टी सभालाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘अरुले षडयन्त्र गरे पनि हामी चिरेर अघि बढ्छौं ।’

देउवाले मधेस र पहाडको कुरा उठाएर बिखण्डन गर्ने कुरा भइरहेको विचार व्यक्त गरे । ‘मधेसीले सीमा रक्षा गरिरहेका छन् तर यहाँ षडयन्त्र भइरहेको छ’, उनले भने, ‘यो देश बनाएको जनजातिले हो, एकीकरण गरेको जनजातिले हो, तर यहाँ लडाउने काम भइरहेको छ। हामीले होश गर्नुपर्छ ।’

पृथ्वीनारायण शाहको सेनामा गुरुङ र मगरहरु रहेको स्मरण देउवाले गरे ।

बिपी कोइरालाले पहिलो मन्त्रिमण्डलै समावेशी बनाएको देउवाको भनाइ थियो । कांग्रेसमात्रै बहुदलीय प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको र अरुको रणनीतिमात्रै भएको धारणा पनि देउवाले राखे ।

कांग्रेसलाई जिताए वृद्धभत्ता दोब्बर पार्ने आश्वासन पनि देउवाले दिए । कांग्रेसले पैसा जम्मा गरिदिएकै कारण कम्युनिष्ट पार्टीले बाँड्न पाएको उनको भनाइ थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि स्थानीय तहका उम्मेदवार जिल्लामै छनोट गर्न निर्देश दिए ।

‘देउवाजी र म भगवान हो र हामीलाई थाहा हुने ? को कस्तो छ र कसले जित्छ भनेर काठमाडौंबाट टिकट दिने ?’, उनले भने, ‘योगदानको मूल्यांकनका आधारमा, जितेर काम गर्न सक्ने आधारमा टिकट दिनोस् ।’ पौडेलले उम्मेदवार बन्ने रहरमात्रै नगर्न कार्यकर्तालाई आग्रह गरे ।

महामन्त्री शशांक कोइरालाले बागी उठ्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘त्यस्तालाई कारबाही गर्नुपर्छ, पार्टीबाट निस्कासनै गर्नुपर्छ ।’