
काठमाडौ, ३० चैत । एमालेका नेता तथा कार्यकर्ता माथि मधेशी मोर्चालाई आक्रमण गरिरहेको भन्दै युवा संघ नेपालले मोर्चालाई सचेत रहन चेतावनी दिएको छ । तराई मधेशमा श्रृङ्खलाबद्ध रुपमा एमालेका नेता कार्यकर्ताहरु र उनीहरुको परिवारका सदस्यहरुमाथी भइरहेको आक्रमण प्रति युवा संघ नेपालले यस्तो कडा अभिव्यक्ति दिएको हो ।
युवा संघले नेकपा एमालेका नेता तथा कार्यकर्तामाथिको आक्रमण नरोकिएमा कडा प्रतिकारमा उत्रिने जनाएको छ । मोर्चाका कार्यकर्ताले आक्रमण जारी राख्दा पनि सरकार मुकदर्शक बनेको भन्दै अब युवा संघनै प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।
युवा संघका उपाध्यक्ष रमेश पौडेल एमालेका नेता तथा कार्यकर्तामाथि आक्रमण नरोकिए उनीहरुले पनि आफू असुरक्षित छु भन्ने बारेमा सोच्नुपर्ने बताए । उनले मोर्चाका कार्यकर्ताहरु को कहाँ बस्छन् ? भन्ने बारेमा युवा संघका कार्यकर्तालाई पनि राम्रैसंग थाहा भएको बताए ।
उनले गर्भवती, बृद्ध–बृद्धा, महिला–बालबालिका माथिको आक्रमण निक्कै निन्दनीय छ भन्दै यस्तो कार्यलाई राज्यले गम्भिरताका साथ लिन माग समेत गरे । युवा संघका कार्यकर्तालाई गुण्डागर्दी नआएपनि ठीकसंग हिसावकिताव गर्न आउने उनको भनाई छ । कसैले पनि सम्यमतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।















प्रतिक्रिया