काठमाडौँ, २९ चैत । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । यसअघि मंसिर १४ गते संसदमा दर्ता भएको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।
विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । संसद्मा प्रस्तुत संशोधन विधेयकको सीमांकनसम्बन्धी व्यवस्थालाई हटाएर सरकारले आठ विषयमा संशोधन गर्ने गरी प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियाे । आठ विषयमध्ये यसअघिको विधेयकमै रहेका नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई हुबहु राखिएको छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख/उपप्रमुखको प्रतिनिधित्वलाई हटाउने र प्रदेशको सीमांकन हेरफेर गर्ने सम्बन्धमा धारा २७४ लाई संशोधन गर्ने विषय संशोधनमा थपिएका छन् ।
संशोधन विधेयकमा प्रदेशको सीमांकन हेरफेर गर्न अधिकारसम्पन्न संघीय आयोग गठन गर्ने उल्लेख छ । प्रदेश सभा गठन नहुँदासम्म त्यसको काम संघीय संसद्ले गर्ने विषयलाई संशोधनमा समेटिएको छ ।












प्रतिक्रिया