काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भेट्न आएका भारतीय नेतालाई ‘पावर’ देखाएका छन् ।
नेपाली राजनीतिमा आफ्नो हुकुम चलाउँदै आएको भारतका नेताहरुलाई आइतबार विहान प्रधानमन्त्रीले बालुवाटारको ‘पावर’ देखाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोस्यारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न विहानै सरकारी निवास बालुवाटार पुगेका थिए । तर, बाहिर सचिवालयमा बसिरहेका प्रचण्डपुत्र प्रकाश दाहालले कोस्यारीलाई रोकेर प्रक्रिया पुर्याई आउ भन्दै फिर्ता पठाइदिए ।

नेपाल भारत प्रबुद्ध समूहको तेस्रो बैठकमा भाग काठमाडौं आएका कोस्यारी एक सातदेखि नेपालमा छन् । र, स्वदेश फर्किने बेला प्रधानमन्त्रीसँग भेट गरेर जाउ भन्दै आज विहान सिधै बालुवाटार पुगे । बालुवाटार पुग्दा प्रमको सचिवालयमा प्रचण्डपुत्र प्रकाश बसेका थिए । उनले ‘तपाईहरुले अहिले भेट्न सक्नुहुन्न्, प्रधानमन्त्रीसँग भेट्न भारतीय राजदूतावासमार्फत समय लिएर राजदूतसँगै लिएर आउनुस्, परराष्ट्र मन्त्रालयमार्फत आउनुस्’ भन्दै कोस्यारी नेतृत्वको भारतीय टोलीलाई फिर्ता पठाए ।
आफ्नो दलबलसहित प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका कोस्यारीलाई ‘अपमानित’ हुनेगरी प्रचण्डले छोरामार्फत फिर्ता पठाएर आफ्नो ‘पावर’ देखाएको स्रोत बताउँछ ।















प्रतिक्रिया