१ कार्तिक २०८३, आइतबार

अशोक नयाँ मिस्टर हिमालय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । रिभर फिल्ड फिट्नेस, चमतीका अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अशोक पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसंग मिस्टर हिमालय उपाधिका लागि भिडेका थिए ।

त्यस क्रममा उनले ५५ केजीमा पहिलो भएका रत्नश्री जिम, पोखराका कमल भण्डारी, ६० केजीमा पहिलो भएका नेपाल व्यायाम मन्दिर, ज्याठाका सुजन तामाङ, ६५ केजीमा पहिलो भएका फिट्नेस फस्ट, सतुंगलका रोजिन वज्राचार्य, ७० केजीमा पहिलो भएका चौथो संस्करणका विजेता व्यायाम मन्दिरका रामबहादुर दाहाल र ७५ केजीमाथि पहिलो भएका व्यायाम मन्दिरकै ग्रिस महर्जनलाई पछि पारेका थिए ।

मिस्टर हिमालयको ६ संस्करण समाप्तिमा दोहो-याएर उपाधि जित्ने खेलाडी सचित प्रधान मात्र हुन् । उनले दोश्रो र तेश्रो संस्करणको उपाधि जितेका थिए । पहिलो संस्करणमा हरिश श्रेष्ठ, चौथोमा रामबहादुर दाहाल र पाँचौमा रामहरि खनाल च्याम्पियन बनेका थिए ।

कुल पुरस्कार राशी ७ लाख रहेको प्रतियोगितामा अशोकले २ लाख ७५ हजार नगद पुरस्कार हात पारे । उनले मिस्टर हिमालयका लागि २ लाख ५० हजार र आफ्नो तौलसमूहमा पहिलो भएकोमा छुट्टै २५ हजार नगद पुरस्कार थापे ।

पुरुष ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ दोश्रो र कपिलवस्तुका सुरेन्द्र वर्मा तेश्रो भए । ६० केजीमा रोयल जिम एन्ड क्लब, बौद्धका सुक्देव कार्की दोश्रो र व्यायाम मन्दिरका सैलेन्द्र शर्मा तेश्रो बने ।

६५ केजीमा व्यायाम मन्दिरका रमेश कार्कीले रजत तथा रुपन्देहीका मोतिलाल चौधरीले कांस्य जिते । ७० केजीमा मध्यपुर फिजिकल फिट्नेस क्लब, ठिमीका अमितकुमार मण्डल दोश्रो र सिटी हेल्ट स्टुडियो, सुकेधाराका विशुराम केसी तेश्रो बने ।

७५ केजीमा कान्तिपुर फिट्नेस सेन्टर, डल्लुका विसन गुरुङ दोश्रो र कम्प्लिट हेल्थ क्लब, बानेश्वरका अनुज मास्के तेश्रो स्थानमा रहे । ७५ केजीमाथि रुपन्देहीका अनिश थापा दोश्रो र मसल्स वल्र्ड फिट्नेस सेन्टर, खुशिबुँका अमन तण्डुकार तेश्रो भए । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फिट्नेसको १७० सेन्टीमिटर उचाई मुनि सिटीका विशुराम केसी पहिलो, रोयलका सुक्देव कार्की दोश्रो र व्यायाम मन्दिरका रमेश कार्की तेश्रो भए ।

सोही स्पर्धाको १७० सेन्टीमिटर उचाई माथि डिभाइन फिजिकल फिट्नेस, कालीमाटीका रतिश वज्राचार्य पहिलो, ओयस्टर स्पा एन्ड फिट्नेस, नयाँ बानेश्वरका साजन अर्याल दोश्रो र कम्प्लिटका अनुज मास्के तेश्रो भए ।

महिला एथलेटिक फिजिकको खुला उचाई समूहमा डिभाइनकी जुनु श्रेष्ठले स्वर्ण, कम्प्लिटकी आरती काफ्लेले रजत तथा ठमेल फिजिकल फिट्नेसकी रजनी थापा मगरले कांस्य जिते । पुरुष फिट्नेस र महिला एथलेटिक फिजिकमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, आयोजक शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषको ८ स्पर्धामा ८९ र महिलाको १ स्पर्धामा ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।