काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चाले पनि स्वीकार गर्ने खालको राष्ट्रिय एकताको संविधान संशोधन प्रस्ताव ल्याउन लागेको उद्धघोष गरेका छन् ।
‘लोडसेडिँग अन्त्य भयो, केही समयपछि बिजुली बेच्छौं’
शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “आज म निकै खुशी छु, मैले छिट्टै अर्को नयाँ संविधान संशोधन विद्येयक भोलि ल्याउँदैछु, त्यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ, प्रस्ताव पूरा तयारी अवस्थामा छ, भोलि संसदमा दर्ता हुन्छ ।’
प्रधानमन्त्रीले अगाडि भने, ‘आजै मैले अर्को नयाँ संविधान संशोधन विद्येयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ । देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरुले यसलाई समर्थन गर्नेमा म बिश्वस्त छु ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘म निकै खुशी छु, अब मधेशी मोर्चाले पनि निर्वाचनमा सहभागी हुन्छ, किनकी मैले अर्को संशोधन विद्येयक त्यो पनि सबैको सहमतिमा ल्याउँदैछु, पूरै संभावना, तयार गरेर आएको छु । यो संशोधन विद्येयकले खुशीका साथ निर्वाचनमा सहभागी बन्ने वातावरण बन्नेछ ।’
उनले अब आउने संशोधन प्रस्तावबाट प्रतिपक्षी र अन्य दलले पनि यसलाई आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे ।
‘निर्वाचनमा सबैले भाग लिनुपर्छ’
प्रधानमन्त्रीले लामो समयपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले अब यसलाई उत्सवको साथ सबैले भाग लिनुपर्ने धारणा राखे । उनले भने, “१९ वर्षपछि हुन गैरहेको निर्वाचन अब सबैले उत्सवको रुपमा लिनुपर्छ, अब निर्वाचन सम्पन्न भयो, राष्ट्रले नै संकल्प नै गरिसकेको छ, सिँगै देश निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गर्न, निर्वाचनको बारेमा अब कहीँ कतै प्रश्न बाँकी छैन । सकारात्मक वातावरण बनाउने काम मेरो हो, मैले काम गरिरहेको छु ।”
त्यस्तै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अर्को मंसिरमा अर्को दूईवटा निर्वाचन एकै चोटि हुने समेत विश्वास दिलाए ।
प्रधानमन्त्री दाहालले देश र जनताप्रति ईमानदारितासाथ र राष्ट्रप्रति सम्मान र जिम्मेवारीबोधका साथ काम गरिए छोटो समयमा पनि धेरै काम सकिने विश्वास दिलाए । दाहालले भने, “मैले विकास गर्न सकिन्छ भन्ने धेरै राम्रो संकेत देखेको छु, ईण्डिकेशन देखेको छु ।”
‘परिणाममुखी काम गरेरै देखाउँछु’
उनले आफू दोस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा केही परिणाममुखी काम गर्ने संकल्प लिएको र सोही अनुसार अहिले काम गरिरहेको समेत जिकिर गरे । उनले भने, ‘मैले एक दिनपनि आराम गरेको छैन । मैले विकासका योजनलाई गति दिनको लागि सँधै घचघच्याउने काम गरेको छु, कहिले पूर्व पुगेको छु, कहिले पश्चिम दौडिएको छु ।’
‘लोडसेडिँग अन्त्य भयो केही समयपछि बिजुली बेच्छौं’
त्यस्तै उनले अहिले देशको जिडिपीमा झण्डै ६ प्रतिशतमा अंक पुग्ने संभावना रहेको बताउँदै यो देश र जनताको लागि पनि खुशीको कुरा भएको बताए । उनले भने, ‘अब सबै दलहरुले संकल्प गर्ने हो भने ती प्रगति गर्न सक्छौं । हामी लोडसेडिँग अन्त्य भयो, केही समयपछि हामी विजुली बेच्न सक्छौं ।’
त्यस्तै उनले विकासको गति पनि तिव्र रुपमा अघि बढिरहेको समेत जनाए । उनले रोकिएका हुलाकी राजमार्ग निर्माण भैरहेको र उत्तर र दक्षिणतिरबाट रेल आउने संभावना बढेको बताए । त्यस्तै उनले नेपाल अब समृद्धिको यात्रामा लम्बिरहेको समेत जनाए । उनले भने, ‘नेपालमै रोजगारीको अवस्था सिर्जना हुने अवस्था भयो ।’
प्रधानमन्त्री दाहालले अब स्थायी सरकारको खाँचो समेत रहेको बताए । उनले भने, ‘५ वर्ष एउटा सरकारलाई काम गर्न मौका दिने हो भने देशको लागि काम गर्न सकिन्छ, अहिले यो वातावरण बनाउन पैदा भएको छ।’
त्यस्तै उनले आफूले भर्खरै भारत र चीनको पनि भ्रमण गरेको स्मरण गर्दै यो वीचमा छिमेकी मित्रराष्ट्रहरुको पनि सकारात्मक भूमिका आफूले आएको विश्वास व्यक्त गरे । आफूले छिमेकीसँग असल सम्बन्ध निर्माण गर्नको लागि पनि महत्वपूर्ण काम गरेको उनले दाबी गरे ।
संविधान जारी भएपछि मुलुक आर्थिक विकासको लागि अघि बढेको र यो परिवर्तनलाई संस्थागत गर्न र समाजवादको आधार निर्माण गर्न सबै दलहरु एक भएर लाग्नुपर्ने समेत बताए ।
















प्रतिक्रिया