काठमाडौं, २६ चैत । सरकारले सुरु गरेको ‘स्वास्थ्य बीमा कार्यक्रम’मा ४५ हजार दुई सय ७७ जना सदस्य बनिसकेका छन् भने आठ हजार सात सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।
सर्वसाधारणलाई स्वास्थ्यमा सहज पहुँचभित्र ल्याउन एक वर्षअघि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रममा सञ्चालनमा ल्याएको थियो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
स्वास्थ्य मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रम उपलब्धिमूलक बन्दै गइरहेको बताउनुभयो । डा लोहनीले एक वर्षमा छ हजार ६७ जनाले स्वास्थ्य बीमा सुविधा लिएको जानकारी दिँदै दुई करोड २६ लाख ३८ हजार पाँच सय रुपियाँ सङ्कलन भइसकेको बताउनुभयो ।
स्वास्थ्य बीमा लागू भएका जिल्लामा २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ वटा सरकारी अस्पताल र २८ वटा रिफरल अस्पतालबाट बिरामीले उपचार पाएको कार्यकारी निर्देशक डा लोहनीले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य बीमामार्फत सेवा लिँदा उपचार दिएका अस्पताललाई ५३ लाख ५४ हजार सात सय ५० रुपियाँ भुक्तानी दिएको जानकारीसमेत दिनुभयो ।
नेपाल सरकारले बाग्लुङ, कास्की, कैलाली, अछाम, पाल्पा, बैतडी, इलाम र म्याग्दीमा यो सेवा सञ्चालन गरिरहेको छ । थप १७ जिल्लामा आगामी असारबाट सेवा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
समितिका अनुसार आउँदो असारबाट झापा, तनहुँ, गोरखा, भक्तपुर, चितवन, जुम्ला, जाजरकोट, महोत्तरी, रोल्पा, मकवानपपुर, सोलुखुम्बु, सुर्खेत, बर्दिया, पर्सा, सिन्धुली, सुनसरी र रौतहट जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुनेछ ।
समितिका कार्यकारी निर्देशक डा लोहनीले तीन वर्षभित्र नेपालभर स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। राजेन्द्र पन्तले गुणस्तरीय स्वास्थ्यमा सहज र समान पहुँचका लागि स्वास्थ्य बिमा आवश्यक रहेको बताउनुभयो ।












प्रतिक्रिया