१४ कार्तिक २०८३, शनिबार

बिहीबार अपरान्ह गृह मन्त्रालयमा के–के भयो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वरीयता विवाद बढ्दै जाँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसको प्रतिनिधित्व गर्ने १४ मन्त्रीसँग छलफल गरेका छन् ।

बिहीबार अपराह्न सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा निधिले उपप्रधानमन्त्री कमल थापाभन्दा पछिको वरीयतामा आफू नबस्ने घोषणासमेत गरेका छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

गृहमन्त्री निधिले थापा दोस्रो वरीयताको उपप्रधानमन्त्री हुने विषय आफूलाई स्वीकार्य नहुने पनि स्पष्ट पारेका छन् । ‘पहिले उपप्रधानमन्त्री भएकै कारण वरीयतामा अगाडि हुने हो भने हामी तीनजनामा सबैभन्दा अगाडि कृष्णबहादुर महरा हो । दलको हैसियत हिसाब हुने हो भने राप्रपाभन्दा कांग्रेस स्वतः अगाडि छ,’ छलफलमा निधिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘गठबन्धन सरकार बन्दा महरालाईभन्दा मलाई अगाडि राखिएको थियो, अब म कमल थापाको पछि बस्न सक्दिनँ ।’

गृह मन्त्रालयमा भएको छलफल अपराह्न चारदेखि साँझ सात बजेसम्म चलेको थियो । बैठकमा मन्त्रीहरूले ठूलो दल भएकाले दोस्रो वरीयतामा निधिलाई राख्नुपर्ने बताएका थिए । वरीयताको विषयमा कांग्रेसका सबै मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने निर्णय गरेका छन् ।

बैठकमा प्रहरी महानिरीक्षक नियुक्तिसहित अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल भएको थियो । बैठकमा निधिसहित मन्त्रीहरू सीतादेवी यादव, बालकृष्ण खाण, डा प्रकाशशरण महत, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गगन थापालगायत सहभागी थिए ।

‘मधेसीले माने दुई चरणमा निर्वाचन’

कांग्रेसका मन्त्रीबीच भएको छलफलमा मधेसकेन्द्रित दलले स्विकारेमा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । ‘मधेसकेन्द्रित दल निर्वाचनमा जान तयार हुन्छन् भने दुई चरणमा स्थानीय निर्वाचन गर्न कांग्रेस तयार हुनुपर्छ भन्नेमा अधिकांश मन्त्रीको धारणा आयो,’ एक मन्त्रीले भने, ‘चुनाव हुन्छ भने कांग्रेस मात्रै तगारो बन्न हुँदैन । मधेसकेन्द्रित दल आउने ग्यारेन्टीमा दुई चरणमा चुनाव गर्न सकिन्छ भन्ने नै मत छ ।’

मधेसी दल निर्वाचनमा जान सहमत भएमा २ नम्बर प्रदेशमा अर्को चरणमा निर्वाचन गर्न सकिनेमा मन्त्रीहरूबीच साझा धारणा बनेको थियो । संविधान संशोधन, नागरिकताजस्ता विषयमा मधेसकेन्द्रित दलसँग कुरा मिल्दा कांग्रेस दुई चरणमा निर्वाचन गर्न तयार हुनुपर्ने सुझाब मन्त्रीको छ ।

कमल थापा नै दोस्रो वरीयतामा

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति गरिएको र सोहीअनुसार गठबन्धन विस्तार भएको प्रचण्डले पार्टीमा जानकारी गराएका छन् ।

‘देउवाजीसँगको सहमतिमा कमल थापालाई दोस्रो वरीयता दिने गरी सरकारमा ल्याइएकाले प्रधानमन्त्रीले थापालाई नै दोस्रो वरीयता दिनुभएको भन्ने स्पष्ट भयो,’ बैठकमा सहभागी नेता हरिबोल गजुरेलले भने ।