१४ कार्तिक २०८३, शनिबार

ललितपुर महानगरमा यस्ता छन् दलहरूका उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २५ चैत ।  उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नति भएको ललितपुर महानगरपालिकाकोे नेतृत्व कसले सम्हाल्ने भन्ने चर्चाले विस्तारै चुनावी माहोल बन्दै छ ।

स्थानीय तह निर्वाचनका निम्ति राजनीतिक दलहरूले औपचारिक रूपमा उम्मेदवार छनोटसम्बन्धी गृहकार्य गरिरहँदा यस्तो चुनावी माहोल बन्न थालेको हो ।

ललितपुर महानगरपालिकामा धेरै राजनीतिक दलहरू क्रियाशील रहे पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको प्रतिस्पर्धाले जनस्तरमा बढी चर्चा पाउन थालेको छ ।  ती दलबाट सम्भावित उम्मेदवारको नाम समेतले परिचर्चा पाउन थालेको छ ।

झन्डै दुई दशकपछि हुन लागेको यो स्थानीय निर्वाचन नयाँ संरचनाअनुसार हुनेछ र स्थानीय निकाय बढी अधिकारसम्पन्न हुँदैछन् ।  नवीन परिवेशमा महानगरपालिकाको निर्वाचनमा मेयर र उपमेयर बन्न अहिलेसम्म कुनै पनि पार्टीले उम्मेदवार चयन गरिनसके पनि गृहकार्य भने तीव्र रूपमा अगाडि बढिरहेको मुख्य राजनीतिक पार्टीहरूले जानकारी दिएका छन् ।

सबैजसो पार्टीहरूले अब केही दिनमै उम्मेदवारहरूको सूची बाहिर आउने जानकारी दिए पनि सबै राजनीतिक दलहरूको उम्मेदवारी बाहिर आउन भने वैशाखको पहिलो साता लाग्न सक्ने देखिएको छ ।

ललितपुरको मेयरको सम्भावित उम्मेदवारमा सबैजसो पार्टीबाट अधिकांश पुरुषको नाम अगाडि सारिएको पाइएको छ ।  नेपाली कांग्रेसका तर्फबाट भारतलाल न्याछें, प्रेमकृष्ण महर्जन, टिरीबाबु महर्जन, सुरेन्द्र जोशी, बाबुराजा चित्रकारको नाममा चर्चा चलेको छ ।  त्यस्तै, उर्मिला केसी पनि मेयर पदका लागि आकाङ्क्षी देखिनुभएको जिल्लाका नेताहरूले बताउनुभयो ।

नेपाली कांग्रेसबाट उपमेयर पदका लागि गीता सत्याल, निरु खड्का, मुद्दती केसी, भगवती शाही, शान्ति महर्जनको चर्चा चलिरहेको छ ।  ‘अहिले जो जतिको चर्चा चले पनि नेपाली काँग्रेसले सबैलाई चित्त बुझ्ने र ललितपुरबासीले अपेक्षा गरेजस्तो विकास र उन्नतिमा गति दिनसक्ने उम्मेदवारको छनोट हुनेछ,’ जिल्ला सभापति मदन अमात्यले भन्नुभयो ।

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका सम्भावित नामहरूमा हरिकृष्ण व्यञ्जनकार र ज्ञानेन्द्र शाक्यको चर्चा चलेको पार्टीका नेताहरू बताउनुहुन्छ ।  एमालेका तर्फबाट मेयरमा हालसम्म कुनै पनि महिला उम्मेदवारको नाम चर्चा गरिएको छैन ।  उपमेयरमा सुकुमाया लामा, रमा आचार्य, उषा बज्राचार्यको नाम अगाडि सारिएको छ ।

जिल्लाका पार्टी सभापति मधुसुदन पौडेलले भने २८ गते भित्रमा वडा कमिटीबाट उम्मेदवारको नाम सिफारिस भएर आएपछि मात्र जिल्लाले माथिल्लो तहमा सिफारिस पठाउने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट दिनेश महर्जन (दीपेश), बाबुराजा बज्राचार्य, कुलाल डङ्गोल, अमिर शाक्य आकाङ्क्षी देखिनुभएको पार्टीका जिल्ला इन्चार्ज दीलिप महर्जनले जानकारी दिनुभयो ।  पार्टीका तर्फबाट उपमेयर पदमा मन्जली शाक्य, बुद्धलक्ष्मी महर्जन आकाङ्क्षी हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पनि मेयरमा पाँच जना आकाङ्क्षी देखिएका जिल्ला अध्यक्ष रामहरि थापाले जानकारी दिनुभयो ।  उक्त पार्टीको तर्फबाट कृष्ण बोहरा, अष्ट महर्जन, नरेश श्रेष्ठ, मीरा केसी, मैया महर्जनको चर्चा हुन थालेको छ ।

अहिलेसम्म उपमेयर पदका लागि आकाङ्क्षी महिला नदेखिएको जिल्ला अध्यक्ष थापाले बताउनुभयो ।  ललितपुर नगरपालिकाको मेयरमा क्रमशः नेपाली कांग्रेसका बेखारत्न शाक्य (२०४९ साल) र नेकपा एमालेका बुद्धिराज बज्राचार्य (२०५४साल) निर्वाचित हुनुभएको थियो ।