२ कार्तिक २०८३, सोमबार

पहिलोपटक कन्सर्ट गरेर उपन्यास विमोचन, सुगम–मिलन र रेखाले गरे ‘पर्पला’को लोकार्पण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । लेखक मिलन संग्रौलाको दोस्रो कृति एवम् पहिलो उपन्यास ‘पर्पला’को बुधबार विमोचन गरिएको छ । पुस्तक विमोचनका लागि आयोजना गरिएको पर्पला कन्सर्टमा गायक सुगम पोखरेल, गायिकाद्वय मिलन अमात्य र रेखा शाहले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

गायक सुगम पोखरेलले साहित्यमा नयाँ पुस्ताको बढ्दो हस्तक्षेपसँगै पुस्तक विमोचनको पनि शैली परिवर्तन भएकोमा खुशी व्यक्त गरे । विमोचनअघि पोखरेलले चर्चित गीत ‘म यस्तो गीत गाउँछु…..’ प्रस्तुत गरेका थिए ।

पुस्तक विमोचनमा आउँदा अलि अप्ठेरो लागेको भएपनि पठन संस्कृतिसँग आपूm नजिक रहेको सुगमले बताए । ‘किताब पढ्ने बानी ठुल्दाई सुनिल पोखरेलका कारण बसेको हो, उनले भने ‘आजसम्म दाइको लाइब्रेरीबाट किताब पढ्दै आएको थिएं अब पर्पलासँगै अन्य किताब पनि आफैं किनेर पढ्छु ।’

पुस्तक सार्वजनिक भए लगत्तै कार्यक्रम सञ्चालिका एवम् नायिका रीमा विश्वकर्माले लेखक संग्रौलाको हस्ताक्षरसहितको पुस्तक मञ्चबाटै खरीद गरेकी थिइन् । उनले पनि पर्पलासँगै आफू पर्पलिन आतुर रहेको बताइन् ।

गायिक मिलन अमात्यले पनि आफ्ना चर्चित गीतहरु गाला रातै र रिलिजको तयारीमा रहेको नयाँ एल्बमबाट गीत सुनाएकी थिइन् । त्यस्तै अर्की गायिका रेखा शाहले रिमेक गरिएको साईंको घर र सिमसिमे पानीमा गीत सुनाएकी थिइन् ।

झण्डै तीन वर्षको प्रयासपछि मात्रै पर्पला सार्वजनिक हुन सकेको लेखक संग्रौलाले सुनाए । यसअघि कथा संग्रह ‘च्याट गर्ल’ ल्याइसकेका संग्रौलाले नयाँ र अघिल्लो भन्दा थप परिस्कृत किताब निकाल्ने चुनौतीकाबीच ३ वर्ष छट्पटीमा बितेको बताए । ‘पहिलो कृति लेखकको मनसँग बढी नजिक हुँदो रहेछ । पहिलो कृति च्याट गर्ल सहजै लेखियो, उनले भने ‘तर दोस्रो कृतिको यात्रा भिन्दै हुँदो रहेछ । यसबेला न लेखक बन्ने रहर बाँकी हुने, न लेख्ने हुट्हुटी । पहिलो कृति लेख्दामा जस्तो अवचेतन मनले दिने आँट पनि हराइसक्दो रहेछ । त्यसैले भनिएको होला पहिलो कृति लेखकको मनको उपज हो, त्यसपछिका दिमागको ।’

पाठकबाट पाइने प्रतिक्रियाले एउटा लेखकमा ऊर्जा पैदा गर्ने भएकाले जे जस्तो भएपनि प्रतिक्रिया दिन उनले सबैमा आग्रह गरे ।

बुकहिल पब्लिकेसन्स्का अध्यक्ष भुपेन्द्र खड्काले युवा पुस्तालाई लक्षित गरी ल्याइएको पुस्तक भएकाले विमोचनमा पनि युवा पुस्ताको प्रतिनिधित्व गराइएको प्रतिक्रिया दिए ।

बुकहिल पब्लिकेसन्स्ले बजारमा ल्याएको पर्पलाको मूल्य ३ सय १५ तोकिएको छ ।