१ कार्तिक २०८३, आइतबार

विमानस्थलमा डा.गोविन्द पोखरेलको बोर्डिङ पास प्रहरीले खोस्यो

23.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । पोखरा विमानस्थलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलको बोर्डिङ पास खोसेर सुरक्षाकर्मीहरूले ठूलो अपमान गरेको खुलासा भएको छ ।

सोमबार अपरान्ह करिव चार बजेतिर पोखरा विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूले डा.पोखरेलको ‘बोर्डिङ पासमा छाप लगाउनु छ’ भन्दै खोसेर राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई उपलब्ध गराएको उच्च स्रोतले जनाएको छ ।

डा.पोखरेलको टिकट र बोर्डिङ पास लिएर थापा भने सोमबार अपरान्ह काठमाडौं फर्किए । तर, डा.पोखरेल अपमान सहँदै पोखरामा बस्नु परेको रहस्य खुलेको छ ।

डा.पोखरेललाई अपमान गर्ने प्रहरीहरूलाई प्रहरी मुख्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको बुझिएको छ ।

प्रहरीले घटनालाई लुकाउन खोजेको छ । यस विषयमा प्रहरीसँग सम्पर्क गर्न खोज्दा जिम्मेवार अधिकारीहरू केही बोल्न चाहेनन् ।

के भएको हो घटना ?

पार्टी कामको सिलसिलामा थुप्रै नेता तथा कार्यकर्ता लिएर पश्चिमाञ्चल दौडाहमा निश्किएका राप्रपा अध्यक्ष एवम् स्थानीय विकासमन्त्री कमल थापा सोमबार अपरान्ह काठमाडौं फर्कदै थिए । उनले टिकट पनि लिएका थिए । तर, उनको टिकट अन्तिम फ्लाइटको थियो । त्यसभन्दा अगाडि उड्ने तयारीमा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलको बोर्डिङ पास खोसेर डिउटीमा खटिएका प्रहरी निरीक्षकले स्थानीय विकासमन्त्री थापालाई उपलब्ध गराएका थिए ।

सोमबार अपरान्ह हावा, हुरी र पानी परेका कारण पोखरा–काठमाडौंको उडान रद्द हुने अवस्थामा पुगेका थिए । अन्तिमका दुईमध्ये पहिलो उडानबाट काठमाडौं आउने तरखरमा रहेका डा.पोखरेलको बोर्डिङ पास प्रहरीले खोसेर अपमान गरेपछि उनी काठमाडौं आउन पाइनन् । दोस्रो फ्लाइट पनि मौसमका कारण रद्द हुन पुग्यो ।

डा. पोखरेल भूकम्पले कमक्षति पुगाएका जिल्लाका पीडितहरूलाई पहिलो किस्ताको रकम दिन भनेर सोमबार बिहान कास्की जिल्ला पुगेका थिए । मंगलबार श्राद्ध भएका कारण सोमबार डा.पोखरेलको एकछक्की थियो । उनी मंगलबारको श्राद्ध भेटाउने गरेर कार्यक्रम मिलाएर पोखरा पुगेका थिए । एकजोर कपडामा पोखरा पुगेका डा.पोखरेलाई प्रहरीले अपमान गरेपछि उनले पश्चिमाञ्चलका डिआइजीसँग कुरा गरेर आपत्ति जनाएको स्रोतले जानकारी दिएको छ ।

डिआइजीले तत्काल कास्कीका प्रहरी प्रमुखलाई फोन गरेर घटनाका विषयमा छानविन गरेर कारबाही गर्न निर्देशन दिएको स्रोतको भनाइ छ । डा.पोखरेलको बोर्डिङ पास खोसेर उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापालाई दिने प्रहरीलाई कारबाही प्रक्रिया अगाडि बढाएको स्रोतको भनाइ छ ।

मौसमका कारण आफू काठमाडौं आउन नसक्ने बुझेका थापाले अलि अगाडिको फ्लाइटमा जान पाए हुन्थ्यो भन्ने कुरा सुरक्षाकर्मी र आफ्ना सहयोगीहरूसँग गरेका थिए । यद्यपि, मौसमका कारण पोखरा बसाइ हुन सक्ने भन्दै काठमाडौंमा रहेकी आफ्नी पत्नीलाई फोन गरेर थापाले जानकारी पनि गराएका थिए । अचानक प्रहरीले बोर्डिङ पास लिएर पहिलो फ्लाइटबाट पठाएपछि दङ्ग पर्दै काठमाडौं आए ।