मधेसको समस्या अहिलेको होइन, पहिलेदेखिको हो । यसलाई समाधान गर्न भनेर मधेसी मोर्चा लागिरहेको छ । तर मोर्चाका नेताहरू मधेसका समस्यालाई भन्दा आफ्नो स्वार्थलाई बढी प्राथमिकता दिँदै आएका छन् । हुन त मधेस नेपाल हो । मधेसी जनता दक्षिणी सीमाको पहरेदार हुन् । मधेसी जनता नेपाली हुन् । मधेस बिग्रिए नेपाल बिग्रन्छ ।
आफ्नो मत जनतासमक्ष राख्न पाउनुुुुपर्छ । यसमा कुनै विवाद छैन । उनीहरूले संविधान संशोधन गर्न माग गर्न पाउनुुुु संविधान प्रदत्त अधिकार हो । तर संविधान संशोधन टाढैको कुरा हुन पुगेको छ । किनभने सरकार पूर्णरूपमा निर्वाचन गर्न लागिपरेको छ । आज मधेसी मात्र छैनन् । उत्पीडित जातजाति, थारू, दलित, महिला आदिले आफूलाई सम्बोधन गर्ने खालको संविधान संशोधन गर्न माग राखिरहेका छन् । तर यो कुरा कसले सुुुुन्ने ? संविधान कार्यान्वयन नगरीकन संविधान संशोधन हुँदैन भन्ने हो भने जब मागअनुुुुसारका संविधानको कुराले प्रवेश गर्न पाएको हुँदैन । त्यसबेला के कुरा कार्यान्वयन गर्ने ? कार्यान्वयन भन्ने कुरा मूर्त कुरामा हुन्छ, हावामा हुँदैन ।
पहिलोपटक संशोधित संविधानलाई दोस्रोपटक संशोधन गर्न किन नहुने ? पछिल्लो समयमा हिन्दुवादीको गतिविधि बढ्दै गएको छ । सर्सर्ति हेर्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउने असफल प्रयास पनि हुँदैछ । यसको लागि भारतीय प्रधानमन्त्री मोदी र हालै निर्वाचित उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथ पनि लागिपरेका छन् । यी कुरा मनसित खाने लड्डू मात्र हुन् । अहिलेका संसदवादी नेताहरूको गतिविधि हेर्दा पूर्वराजा ज्ञानेन्द्रले टाउको उठाएका मात्र हुन्।
तर सामन्तवादलाई फाल्न इतिहासले ठूलो मूल्य चुुुुकाइसकेको छ । बगेको खोला फर्केर आउँदैन । तर पनि नेताहरूमा सामन्ती संस्कार ज्यूँका त्यूँ छन् । यसलाई बदल्न अर्काे चुुुुनौती उत्तिकै थपिएको छ । मुलुकमा विद्यमान एकता खल्बलिने गरी उत्तेजनात्मक रूपले भाषण गर्नुुुु राष्ट्रवाद होइन । सिंहदरबारमा बस्ने नेताहरू भाषणमा मात्रै बढी राष्ट्रवादी हुने गर्छन्, तर उनीहरू राष्ट्रवादी होइनन् र हुन सकेनन् आजसम्म । अर्कोतिर मधेसी मोर्चाले राखेका अधिकांश माग मधेसी जनतालाई सम्बोधन गर्ने खालका छैनन् । उनीहरूका मागले मधेसी मन र मधेसी माटोलाई छोएको छैन ।
मोर्चा मधेसी नेता हुन्, तर मधेसी जनताका नेता होइनन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भन्छन्– राज्यको विभेदकारी रबैया नसुध्रिए नेपालबाट मधेस नै गुम्ने खतरा छ । मधेस आफैंमा राष्ट्र हो । राष्ट्रविरोधी भाषण गरेर हिँड्ने ठाकुरजस्ता नेताहरूलाई नेपाली जनताले कसरी नेताका रूपमा स्विकार्लान् ? अर्को कुरा, उनी कसले बल दिएर यस्ता राष्ट्रविरोधी कुरा गर्छन् ? भारतले साथ दिउन्जेल राष्ट्रविरोधी भाषण गर्ने यी ठाकुर नेपालका कि भारतका नेता हुन् ? एमालेले त्यसै मोर्चाका मागविरुद्ध अडान लिएको होइन ।एमाले प्रतिपक्षी पार्टी हो । उसले मधेसी मोर्चाले उठाएका मागप्रति असहमति जनाउँदै आएको छ । यसैले मोर्चाले एमालेलाई आफ्नो कटु आलोचक पार्टीका रूपमा लिएको छ ।
मोर्चाले राखेका अहिलेका माग सम्बोधन नगर्ने अडानमा एमाले रहेको छ । अहिले एमाले मधेसी मोर्चाविरुद्ध बोल्न सक्ने एक मात्र पार्टी भएको छ । एमाले संघीयताविरोधी पार्टी होइन । मधेसविरोधी पार्टी पनि होइन । मधेसी जनताको पक्षमा छ । तर ऊ मधेसको अहित हुने माग राख्ने मधेसी मोर्चाविरुद्ध छ । अहिले पनि उसले मोर्चाको मागप्रति असहमति प्रकट गर्दै निर्वाचन प्रचार अभियानमा दौडिएको छ ।
स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दौडमा छ । मधेसका बुद्धिजीवीहरूले पनि मोर्चालाई चुनावमा भाग लिन सुझाएका छन् । तर मोर्चाले यो कुरा स्विकारेको छैन । यसले अरूलाई भन्दा मोर्चालाई नै सबैभन्दा घाटा हुनेछ । मधेस आन्दोलनमार्फत अस्तित्वमा आएको मोर्चाले आगामी दिनमा पनि आफ्नो साख जोगाउन स्थानीय निर्वाचनमा भाग लिनुपर्छ ।
– अन्नपूर्ण पोष्ट दैनिकबाट साभार पाठक पत्र
















प्रतिक्रिया