१ कार्तिक २०८३, आइतबार

यी हुन् सेनापति रुक्माङ्गत कटवालको सातो लिने माओवादी कमाण्डर

53k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । बाँकेको राजनीतिक वृत्तमा परिचित नाम ‘तुफान’ एक तत्कालिन माओबादी कमाण्डरको हो । सल्यानको विकट कोटवाडामा जन्मी हुर्किएका डम्बर विक तुफानलाई राजनीतिक अस्थिरता र सामाजिक असमानता मन परेन । उनले थुप्रै अस्थिरता र असमानताहरुको विरुद्ध लाग्ने अठोट गरे । र, त्यहिबेला माओबादी आन्दोलन उत्कर्षमा पुगेको थियो । विभेद र अन्यायको विरुद्धमा गाउँमा माओबादीले सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेका हुन्थे । सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै स्कुले जीवनमा अखिल (क्रान्तिकारी) मा संगठित भए उनी ।

सुरुमा संगठनमा उनको नाम भुवन राखिएको भएपनि उनको तुफानी हिडाई र काम गराइले उनको नामनै पछि तुफानमा परिणत भयो । त्यो बेला माओबादीमा उपनाम राख्ने गरिन्थ्यो ।

उनी भन्छन्, ‘भूमिगत कालमा तीव्रता थियो । आफ्नो नाम तुफान ठिकै थियो । अब चाहि राजनीतिक ग्राउन्ड अलि सुस्त छ । खुल्ला परिवेशमा तुफानको अगाडि डम्बर जोड्दा ठिक हुन्छ होला ।’

द्वन्द्वकालमा बाँके र बर्दियालाई राजनीतिको मलजलको कर्मथलो बनाएका थिए डम्बर विक तुफानले । उनी ०५४ मा सल्यानबाट फर्किदै गर्दा अगैयामा प्रहरी कब्जामा परेर तीन महिना हिरासतमा परे । उनी त्यसपछि अझ बढी खारिए राजनीतिमा ।

माओबादी सशस्त्र युद्धमा होमिदा भर्खर १६ वर्षका कलिला तुफान शारीरिक रुपमा पातला पनि थिए । माओवादीको बाँके र बर्दियामा त्यो बेला संयुक्त कमिटी थियो । उनको पहिलो जिम्मेवारी सुर्यपटुवा क्षेत्र (भुरिगाउँ, ढोढरी ठाकुरद्धारा) थियो ।

०५६/०५७ सालमा बाँके बर्दिया माओबादीका लागि त्यति सुरक्षित भने थिएन । नेतृत्व संकटको त्यहि प्रतिकुलतामा उनले बाँके बर्दिया सेक्रेटरीको भूमिका निर्वाह गरे ।

०६/६१ सालको माघीको दिन उनी मृत्युको मुखबाट बचेका थिए । बर्दियाको महम्मदपुरमा उनी आफ्ना सहयोगीसंग खाना खाने तयारी गरिरहेका बेला नेपाली सेनाले घर घेरा हाल्यो । उनी त्यहाँबाट भाग्न सफल भए । उनी खेतैखेत भादा नदीतिर लागे । भोको पेट भादा पार गर्न सक्दिन जस्तो लाग्यो उनलाई । तर उनको सहयोगीको करबलले भादामा हाम्फाले ।

भादातिर जाँदा सेना, प्रहरीले फायर खोलिसकेको थियो । मुस्किलले ५० देखि १०० फिटको फरकमा सडक माथिबाट सेना, शसस्त्रले गोली प्रहार गरे । उनलाई मृत्यु नजिक आएको जस्तो लाग्यो ।

माथी आकाशमा हेलिकप्टर घुमिरहेको थियो । बालुवामा छेकिएर भुइमा सुतेर हातले शरिर छामे । हातमा रातो लागेको थिएन । अर्थात गोली नलागेको निश्चित भयो ।

हत्तपत्त ज्यानको कपडा निकालेर बनयान र हाफपैन्टमा नजिकैको तोरीबारी भित्र पसे । त्यहि तोरीबारीमा काम गरिरहेका जिविसका कर्मचारीको सहयोगमा कर्मचारीको घर गए । त्यहि दिन साँझ उनले रेडियो आफू सेनाबाट मारिएको समाचार पनि आफै सुने ।

रुकमाङ्गतको सात्तो यसरी खाएका थिए तुफानले

राझा चौकमा माओवादीले आक्रमण गरेपछि तुफानले राझा पृतनाका तत्कालिन पृतनापति रुक्मांगद कटवाललाई फोन गरे । फोनबाटै उनले भने, ‘हामीले तिम्रो नाकै मुनि आक्रमण गरेका छौं । होस गर्नु अब तिम्रो पालो ।’

रुक्माङ्गतले राझामा बसेर माओबादी विरुद्ध योजना बनाइरहेका बेला उनले पनि बाँके र बर्दियाका गाउँहरुमा बसेर काउन्टर स्ट्राटेजी बनाएका थिए ।

युद्धकै बेला तुफानलाई भेट्न सिडिओ आउँथे । प्रहरीका उच्च अधिकृतहरु धाउथे । सरकारी कार्यालयका कर्मचारीहरु सूचना दिन्थे । अन्य पार्टीका नेता कार्यकर्ताहरुले सहयोग गर्थे । राजनीतिक दलहरुसंग पनि मित्रवत सम्वन्ध राख्ने प्रयत्न गरे उनले । पत्रकार तथा मानव अधिकारकर्मीहरुसंगको सम्वन्धलाई निकट बनाए । जनतासंग भिज्ने काम गरे ।

नेत्रविक्रम चन्द विप्लव, सुरेस सिंह, पोष्ट बहादुर बोगटी दिवाकर लगायतका नेतृत्वसंग नियमित बसउठ हुन्थ्यो । माओबादी सुप्रिमो प्रचण्डसँग पहिलो भेट चितवनको चेपाङ्ग बस्तीमा भएको थियो उनको ।

उनले त्यस क्षेत्रबाट ०६२/०६३ को जनआन्दोलनको पनि नेतृत्व गरेका थिए । जनआन्दोलनको केन्द्र नेपालगञ्ज थियो र जनपरिचालनको विडो खजुराले थामेको थियो । उनी भन्छन्, ‘विभेद, अन्याय र कुरीतिपूर्ण सामाजिक व्यवहारहरु अझै निमिट्यान्न हुन सकिरहेको छैन । सामाजिक सद्भावको खाँचो अझै छ ।’ – नेपालगञ्ज न्युजको सहयोगमा