२ कार्तिक २०८३, सोमबार

गीतसंगीतबाटै परिचय बनाएकी छु : पूर्णिमा पुन

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखा जिल्ला घर भएकी पूर्णिमा पुनलाई कुनै बेला बीमाकुमारी दुरा, शर्मिला गुरुङ जस्ता चर्चित गायिकाहरूको गीत सन्दा आफूलाई पनि गाउने रहर लाग्थ्यो । कालान्तरमा उनीहरूको सिको गर्दै जाँदा पूर्णिमा पनि गायिका बन्न सफल भइन् ।

गीतसंगीतको क्षेत्रमा लाग्न पूर्णिमाले कुनै पनि औपचारिक शिक्षा लिएकी छैनन् । भन्छिन्, ‘संगीतको कुनै औपचारिक शिक्षा लिएकी छैन । गाउँदै जाँदा आफै सिके । नजानेको विषयमा साथीहरूसँग सोध्ने गर्छु ।’ गायक राजन ठकुरी र गायिका सिर्जना ‘बिहरी’ थापासँग कुनै समय पूर्णिमाको गायनमा संगत पनि थियो ।

गीतसंगीतको क्षेत्रमा पूर्णिमाको यात्राले सात वर्ष काटिसकेको छ । गाउँमा रहँदा वीमाकुमारी दुरा र शर्मिला गुरुङका गीतबाट प्रभावित पूर्णिमालाई अहिले भने गीतसंगीतले नयाँ पहिचान दिएको छ । भन्छिन्, ‘गीतसंगीतमा लागेपछि गाउँ समाज, साथीभाइले उच्च सम्मानका साथ लिन्छन् । खुसी लाग्छ ।’

गाउँमा विद्यालय अध्ययनका बेला गाउने गरेको स्मरण गर्दै पूर्णिमाले भनिन्, ‘मेरो गाउँका लीलु गुरुङ, कपिल रानासहितका कलाकारहरू हुनुन्थ्यो । उहाँहरूको साथ र समर्थनले पनि मलाई गीतसंगीतमा लाग्न धेरै मद्दत पुग्यो ।’

लजालु स्वभावकी गायिका पूर्णिमाको स्वरको पछि लाग्ने थुप्रै छन् । भन्छिन्, ‘गीतसंगीतमा लागेपछि मन पराउने त हुन्छन् नै । तर, मैले त्यस विषयमा केही ध्यान दिएकी छैन । मेरो आफ्ना शुभचिन्तकहरूलाई बेवास्ता पनि गर्नु हुँदैन ।’

पूर्णिमाले दोहोरी गीत मात्रै गाउँदिनन् । उनले म्युजिक भिडियो पनि अभिनय गर्ने गरेकी छिन् । ‘म्युजिक भिडियोहरूमा खेल्ने गरेको पनि छु’, पूर्णिमाले हाँस्दै भनिन्, ‘कलाक्षेत्रलाई नै आफ्नो कर्मथलो ठानेकी छु ।’ गीतसंगीतमा व्यावसायिक रुपमा लागेकी पूर्णिमाका यात्रा सफल हुँदै गएको उनी आफैले पनि ठानेकी छिन् ।

‘सिरसिर बतास चल्दा, झल्को आउँछ…’, ‘मायाले सताउँछ, डाँडैमा घम ढल्दा…’, ‘कहिले सुकेन परेलीको डिल, तिम्रो सम्झनाले दुख्छ सधैँ दिल…’लगायतका गीतमा उनको स्वर सुन्न पाइन्छ ।

गायिका एवम् मोडल पूर्णिमाले सालैजो भाकामा नयाँ गीत ल्याउँदै छिन् । ‘जहाँ गएनी मायाको झल्को आउँछ, चिनो रुमाल पच्छयौरी मलमलको…’ बोलको गीतमा उनलाई गायक सुरज पुनले साथ दिएका छन् ।