काठमाडौं । महेशकुमार ओलीको लेखन रहेको ‘तिमले नाता तोडी…’ बोलको आधुनिक गीतले यतिबेला चर्चा बटुल्न थालेको छ । शिव परियार र विन्दु परियारले गाएको यो गीतलाई गीतकार ओली आफैलाई मनैदेखि मन पर्छ ।
गीतका शब्दप्रति ओलीलाई आफ्नै भोगाइ जस्तो लाग्छ । भन्छन्, ‘यो गीतका शब्द राम्रा छन् । ती शब्दहरूले मनका भावना छोएका छन् ।’ हुन त गीतकार ओलीले थुप्रै गीत लेखिसकेका छन् । दर्जन बढी गीतहरू रेकर्ड पनि भइसकेका छन् । शिव र विन्दुले गाएको यो गीत अलिक विशेष रहेको उनको भनाइ छ ।
विगत ३–४ वर्षदेखि गीतसंगीतमा सक्रिय रहेका गीतकार ओलीले भन्छन्, ‘गीतबाट के सन्देश दिन खोजिएको हो ? लेखनका बेला बुझ्न सक्नु पर्छ ।’
अञ्जु पन्तको स्वरमा ‘तिमीसँगै जुनी काट्ने…’, सुधा रत्नको स्वरमा ‘मैले माया गर्दै गएँ…’, गोविन्दमधुर आचार्यको स्वरमा ‘पैसा रैछ…’ बोलका गीतहरू उनका चलेका गीतमा पर्छन् । गीतकार ओली भन्छन्, ‘मेरो धेरै गीत दर्शक स्रोतासम्म पुगेका छन् । उहाँहरूले मन पराइदिनुभएको छ ।’
फिल्मका गीतहरू लेख्नु भएको छैन भन्ने प्रश्नमा गीतकार ओली भन्छन्, ‘फिल्मका लागि भनेरै गीत लेखेको छैन । तर, सबै प्रकारका गीत लेखनमा उत्तिकै रुची छ ।’
साहित्यप्रति सानैदेखि लगाव रहेको बताउने ओलीले भने, ‘गीत, गजल, कथा, कविता सबै मलाई मन पर्छ । गजलहरू पनि लेखेको छु ।’
तपाईका गीतहरू बेदनामा आधारित किन हुन्छन् भन्ने प्रश्नमा ओलीले भने, ‘खै थाहै भएन । लेख्दै जाँदा त्यतातिर ढल्कने गरेको छु । मायाप्रेम र रोमान्टिक गीत पनि छन् ।’















प्रतिक्रिया