काठमाडौं, १८ चैत । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले देश द्रुत आर्थिक विकास र आधनुनीकरणको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।
एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को आयोजनामा मार्च २९ देखि थाइल्याण्डको राजधानी बैंककमा सुरुभएकोे दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ (Asia-Pacific Forum for Sustainable Development) को तेस्रो दिन शुक्रबार मुख्यवक्ताको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष डा. श्रेष्ठले नयाँ संविधान जारी भएसँगै देश आर्थिक तथा सामाजिक विकासमा द्रुततर रुपमा अगाडि बढेको बताउनुभएको छ ।
उहाँले संघीय संविधानको निर्माणसँग सँगै राष्ट्रिय योजना आयोगले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता राखेर नीति नियमहरु तर्जुमा गरेको बताउनु भयो ।
“गतवर्ष नेपालको संविधान जारी भएसँगै देशमा आर्थिक विकास र आधनुनीकरणले गति लिएको छ । राष्ट्रिय योजना आयोगले पनि आफ्ना कार्यक्रमहरु सोही अनुरुप प्राथमिकीकरण गरेको छ । १४औं योजनामा तीनवटा अन्तरराष्ट्रिय एजेण्डाहरु जस्तै दिगो विकासका लक्ष्यहरु, वातावरणसम्बन्धी पेरिस सम्झौता र शहरी विकासलाई समावेश गरेका छौं,” उहाँले भन्नुभयो ।
सह्रशताब्दी विकास लक्ष्यमा आंशिक सफलता पछि दिगो विकाससम्बन्धी लक्ष्यहरुको प्रभावकारी कार्यान्वयन तथा सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्तिको लागि नेपाल प्रयत्नरत रहेको बताउनुभयो ।
दिगो विकास लक्ष्य कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन हालै नेपाल सरकारले प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यान्वयन तथा समन्वय समिति गठन गरेको बताउनुभयो ।
प्राकृतिक प्रकोपले आर्थिक, सामाजिक तथा वातावरणीय क्षति हुने बताउँदै त्यस्ता प्रकोपबाट गरिब तथा विपन्न वर्ग बढी पिडित हुने बताउनुभयो ।
“गरीबी निवारण तथा अन्य विकासका कार्यक्रमको बजेट प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरण तथा उद्धारमा परिचालित हुने हुँदा, यसबाट गरिब तथा विपन्न वर्ग झन् पिडित हुने गरेका छन्,” उहाँले बताउनुभयो ।
यस अघि उपाध्यक्ष डा. श्रेष्ठले उक्त फोरमको मुख्य कार्यक्रमको रुपमा रहेको पहिलो दिनको सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धी दृष्टिकोणहरु (Perspectives on Achieving the 2030 Agenda on Sustainable Development) विषयको सत्रको अध्यक्षता गर्नुभएको थियो भने सोही दिन उहाँले गरिबी निवारणसम्बन्धी राउण्ड टेवलमा प्यानलिष्टको रुपमा भाग लिनुभएको थियो ।
त्यसैगरी दोस्रो दिन उपाध्यक्ष डा. श्रेष्ठले योजना कार्यन्वयनका साधनको वितरणप्रणालीलाई सबलीकरण (Strengthening the Delivery of the Means of Implementation) सम्बन्धी सत्रको सहजीकरण गर्नुभयो ।
एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने उक्त फोरममा नेपालको तर्फबाट भाग लिने माननीय उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलिको सदस्यमा योजना आयोगका सहसचिव लालशंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदुत खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहनु भएको छ ।
उपाध्यक्ष डा. श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।















प्रतिक्रिया