
महोत्तरी, १८ चैत । नेकपा एमालेले मधेशी मोर्चाले आफ्नो पकड क्षेत्र मान्दै आएको दुई नम्बर प्रदेशमा पार्टीले एक सय ठाउँमा जित्न सक्ने निष्कर्ष निकालेको छ ।
महोत्तरीको बर्दिबासमा आयोजित कार्यकर्ता भेलापछि एमालेले मधेशमा पार्टीको अबस्था उत्साहजनक रहेको भन्दै दुई नम्बर प्रदेशका १ सय २८ वटा स्थानीय तहमध्ये कम्तीमा सय वटामा चुनाव जिताउने निष्कर्ष निकालेको हो ।
‘बिभिन्न जिल्लाको रिपोर्टिंगका आधारमा ६० प्रतिशत नगरपालिका, गाउँपालिकामा एमालेले जित्ने देखियो । तर यसमा अझै मेहनत गरे एक सय ठाउँमा जित्ने अबस्था देखिएको छ ।’, भेलामा सहभागी एमालेका केन्द्रीय सदस्य एवं धनुषा जिल्ला इन्चार्ज श्रीप्रसाद साहले दैनिक नेपालसँग भने – ‘कम्तीमा एक सय ठाउँमा जिताउने गरी लाग्नका लागि नेता कार्यकर्तालाई भनिएको छ । कार्यकर्ताले पनि योजनाबद्द रुपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।’
एमालेले मधेसमा चुनावी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन बुधबार र बिहीबार २ नम्बर प्रदेशस्तरीय बृहत कार्यकर्ता भेला आयोजना गरेको थियो । भेलामा आठ जिल्लाका करिब १५ सय अगुवा कार्यकर्ताको सहभागिता थियो ।
सप्तरी घटनापछि दुई नम्बर प्रदेशका जिल्लामा एमालेको मेची महाकाली अभियान स्थगित भएका कारण एमालेले बर्दिबासमा पार्टीको विशेष भेला आयोजना गरी चुनावी रणनीति तयार गरेको हो । भेलामा पार्टी महासचिव ईश्वर पोखरेलले मैथिली भाषामा भाषण गरेका थिए । एमालेले मधेशको विकासका लागि बिभिन्न काम गरेको भन्दै उनले पार्टीभित्रका भ्रम चिर्न कार्यकर्तालाई अनुरोध गरेका थिए ।
प्रदेश संयोजक सत्यनारायण मण्डलको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन सत्रमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी थिए ।















प्रतिक्रिया