भैरहवा, १७ चैत । बैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनको सुरक्षाको लागि सरकारले ७५ हजार म्यादी प्रहरीको भर्ना खोलेको छ । चैत ११ गते खोलिएको भर्ना आज चैत्र १७ गते बन्द भएको छ । गृह मन्त्रालयले म्यादी प्रहरीकोलागी मुलुकको ७५ वटै जिल्ला प्रहरी कार्यलयमा भर्ना आवेदन फारम लिने व्यवस्था गरेको थियो ।
म्यादी प्रहरी भर्नाको लागी पश्चिम तराईको महत्वपुर्ण जिल्ला रुपन्देहीमा खोलिएको आवेदनमा मधेसी समुदायका युवा युवतीहरुले अत्याधिक रुचि देखाएर फारम भरेका छन् । रुपन्देहीमा ३ हजार ५ सय जनाले आवेदन फारम भरेको प्रहरीका जिल्ला प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
कुल आवेदकमध्ये करिब ६३ प्रतिशत मधेसी समुदायका आवेदक रहेको प्रहरीको भनाई छ । मधेसी मोर्चाले निर्वाचन बहिस्कार गर्ने भनेर प्रचार गरिरहेको बेला मधेसी समुदायका युवा युवतिले चाख पुर्वक म्यादी प्रहरीमा आवेदन भर्नुले युवा पुस्ता निर्वाचन प्रति सकारात्मक भएको पुष्टि भएको छ ।
रुपन्देहीमा परेको आवेदनमा स्नातक तह उत्तीर्ण गरेका युवायुवतीहरुको संख्या उल्लेख्य रहेको पनि तथ्यांकमा देखिएको छ । म्यादी प्रहरी छनौट आवेदन फारम भर्नका लागि न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ र १८ वर्षदेखि ५४ वर्ष उमेर पुगेका पूर्व प्रहरी तथा सैनिक र साधारण नागरिकहरुको लागि खोलिएको आवेदनमा स्नातक तह उत्तीर्ण गरेका युवायुवती उल्लेख्य रुपमा सामेल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ ।
जिल्लामा अहिलेसम्म ३५ सय जना युवायुवतीहरुले म्यादी प्रहरी छनौटका लागि आवेदन दिएको जसमा ३ सय जति महिलाको संख्या रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पाण्डेले जानकारी दिए । म्यादी प्रहरीमा छनौट भएकोले ५५ दिन सम्म नेपाल प्रहरीको जवानले पाउने सेवा सुविधा सहित सुरक्षाको काम पाउने छ । आवेदन दिएका उम्मेदवारहरुको छनौट प्रक्रिया चैत २०, २१, २२ र २३ गतेसम्म रहने र छनौट भएका उम्मेदवारहरुको प्रशिक्षण चैत २५ गतेबाट सुरु हुने समेत डिएसपी पाण्डेले बताए ।













प्रतिक्रिया