काठमाडौं, १७ चैत । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उहाँको योगदानको कदर गर्दै हाइड्रो नेपालले २०७३ को लागि हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
त्यसैगरी हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई जलविद्युत् क्षेत्रमा लामो समयदेखि उहाँको निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गर्ने निर्णय गरेको छ । डा. हरिमान श्रेष्ठ जलविद्युत् क्षेत्रमा एकजना पायोनियर व्यक्तित्व हुनुहुन्छ । उहाँले सन् १९६६ मा Moscow Power Institute (तत्कालीन सोभियत संघ) बाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाउनु भएको थियो । जुन कुरा आज ५० वर्षपछि सम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा रहेको छ ।
हाइड्रो नेपाल एक्सिलेन्स अवार्डले कुलमान घिसिङलाई मुलुकबाट लोडसेडिङ पूर्णतयामुक्त गर्नुका साथै ऊर्जा क्षेत्रमा मुलुकलाई आत्मनिर्भर तथा ऊर्जा निर्यात कार्यमा सफल बनाउनको लागि काम गर्न अझ बढी हौसला तथा प्रेरणा मिल्ने हाइड्रो नेपालको विश्वास छ ।
त्यस्तै हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड विजेताको रुपमा डा. हरिमान श्रेष्ठको पहिचान, नेपालको जलस्रोत, तथा ऊर्जा क्षेत्रमा एक प्रतिबद्ध एवम् निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा रहेको छ । हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड जलविद्युत्, ऊर्जा तथा वातावरण सम्बन्धमा उच्चतम योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ ।















प्रतिक्रिया