२ कार्तिक २०८३, सोमबार

शिशिरले नै छानेका थिए राष्ट्रकविको गीत ‘सारंगी त रेटे पनि बोल्छ मिठो धुन’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं । ०५८ सालतिरको कुरा हो । गायक शिशिर योगी र राष्ट्रकवि माधवप्रसाद घिमिरेबीच एउटा सार्वजनिक कार्यक्रममा भेट भयो । स्वर्गीय बद्रीबिक्रम थापाको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको भेटले घिमिरेसँग शिशिरलाई निजिक्याइ दियो । सोही भेटमा राष्ट्रकवि घिमिरेले शिशिरलाई आफ्नो घरमा आउन निम्तो दिएका थिए ।

शिशिरका स्वरमा रेकर्ड भइसकेका गीत सुन्दै आएका घिमिरेले उनको स्वरको प्रसंशा गर्न कुनै कसर बाँकी राखेनन् । सोही मोका छापेर गायक शिशिरले गीत मागी हाले । जवाफमा घिमिरेले शिशिरलाई ‘किन्नरी किन्नरी’ गीतसंग्रहबाट रोजेर गीत गाउन अनुमति दिएका थिए ।

‘किन्नरी किन्नरी’ गीति संग्रहबाट गायक शिशिरले तीन वटा गीत छानेका थिए । त्यसमध्ये थिए ‘सारंगी त रेटे पनि बोल्छ मिठो धुन…’, माटै र छोउँ…’ र ‘ऐन झ्यालको पुतली…’ गीत शिशिरले छनौट गरेका थिए । विगत सम्झिदै शिशिरले भने, ‘मैले छनौट गरेका तीन गीतमध्ये ‘सारंगी त रेटे पनि बोल्छ मीठो धुन…’ र माटै र छोउँ…’ गीत आफै गाएँ । ‘ऐन झ्यालको पुतली…’ अमृत गुरुङले गाउनु भयो ।’

संयोग मान्नु पर्छ गायक शिशिरको ‘सारंगी त रेटे पनि बोल्छ मिठो धुन…’ बोलको गीत हिट भयो । यो गीतपछि शिशिरलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आर्थिक रुपमा के कस्तो कमाइ भयो त्यसलाई भन्दा पनि यो गीतले दिएको उच्च सम्मानबाट गायक शिशिर खुसी छन् । भन्छन्, ‘त्यो बेला मैले छानेको गीतबाट खुसी भएर मलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले मेरो प्रशंसा गर्नुभयो ।’

‘यो गीत छान्ने प्रतिभा तपाईमा पाएँ, गीतको मर्मलाई बुझ्न सक्ने क्षमता राम्रो लाग्यो’, राष्ट्रकवि घिमिरेले आफूलाई त्यति बेला भनेको बाक्यांश स्मरण गर्दै शिशिरले भने, ‘गीत यति राम्रो बन्यो राष्ट्रकवि घिमिरेलाई पनि खुसीको सीमा रहेन ।’ यो गीतलाई संगीत शक्ति बल्भले दिएका छन् । गीतको एरेञ्ज शिलाबहादुर मोक्तानले गरेका हुन् ।

‘सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनी, मै कसरी मधुर बनाउँ निठूरलाई…’ बोलको गीत अहिलेको समसामयिक राजनीतिसँग मेल खान्छ भन्छन् गायक शिशिर योगी । ‘गीतको भावलाई जता ढाल्यो त्यतै ढल्छ । तर, मैले अहिलेको राजनीतिक अवस्थासँग तुलना गरेर हेर्ने गरेको छु ।’

‘नेपाल जनता सारंगीत हुन्, तै पनि जनताले नेताहरूलाई केही गर भनेर पटक–पटक मौका दिन्छन् । खासै काम गर्दैनन्’, गायक शिशिरले भने, ‘सारंगीले आफ्नो पीडालाई भुलेर जसरी मीठो धनु दिन्छ, त्यसै गरी नेपाली जनताले पनि सबै कुरा सहेर हरेक दुःख पीडाको सामना गरिरहेका छन् ।’

‘सारंगी त रेटे पनि बोल्छ मीठो धुन…’ बोलको गीतको रचना राष्ट्रकवि घिमिरेले ०२१ सालमा रचना गरेका हुन् । त्यति बेला जनता निरंकुश राजतन्त्रको थिचोमिचोमा परेका बेला सारा नेपालीको व्यक्तिगत अभिव्यक्तिालाई गीतका माध्यमबाट राष्ट्रकवि घिमिरेले कविता लेखको गायक शिशिरले बताए । गीत रेकर्ड गर्न केही समय लागेको थियो । गीत रेकर्ड भइसकेपछि घिमिरेले गायक शिशिरको मुक्तकण्ठले प्रसंसा पनि गरेका थिए ।

गायक शिशिरले अहिले वरिष्ठ संस्कृतविद् सत्यमोहन जोशी, रत्नशम्शेर थापा, वरिष्ठ साहित्यकार स्वर्गीय कमलमणि दीक्षित, स्वर्गीय भीम बिरागका रचनाका गीत गाउँदै छन् । शिशिरले नारायण गोपालको संगीत तथा रत्नशम्शेर थापाको रचनामा रेकर्ड हुन बाँकी रहेको युगल रोमान्टिक गीत गाउँदै छन् । शिशिरको नयाँ एल्वममा ९ वटा गीत रहने छन् ।