काठमाडौं, १६ चैत । निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
मन्त्री निधिले आचारसंहिता उलंघन गर्दै हेलिकोप्टर चढेर पार्टीको रकम वितरण गरेपछि आयोगले मंगलबार पत्र काटेरै स्पष्टीकरण सोधेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार निर्वाचन आयोगमै पुगेर सरकार, सरकारका गृहमन्त्री र अन्य मन्त्रीहरूबाटै आचारसंहिता उल्लंघन भइरहेको लिखित उजुरी गरेपछि आयोगले गृहमन्त्री निधिलाई आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरणका लागि पत्र पठाइएको बताएको छ ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले आचारसंहिता उलंघनको उजुरी परेपछि आयोगले गृहमन्त्री निधिसँग स्पष्टीकरण मागेको बताए ।
‘निर्वाचन घोषणा र आचारसंहिता लागू भइसकेको अवस्थामा रकम बाँड्दै हिँडेको भन्ने उजुरी परेपछि हामीले गृहमन्त्रीलाई स्पष्टीकरणका लागि पत्र पठाएका हौं’, निर्वाचन आयुक्त शाहले भने ।
गृहमन्त्री निधिले शहीद गोविन्द गौतमको परिवारलाई सरकारका तर्फबाट राहत दिने कार्यक्रममा कांग्रेसको तर्फबाट समेत ७ लाख रुपैयाँको चेक दिएका थिए ।
गृहमन्त्रीको सो काम आचारसंहिताविपरित भएको जनाउँदै आयोगले पत्र काटेको हो । निर्वाचन आयुक्त शाहले विगतमा प्रमुख जिल्ला अधिकारीबाट यस्ता रकम वितरण गर्ने गरिएको तर अहिले गृहमन्त्री नै गएको भन्ने विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।
पछिल्लो समयमा मन्त्रीहरूले आचारसंहिताको धज्जी उडाउन लागेपछि एमालेले आपत्ति जनाएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको टोली मंगलबार आयोग पुगेर उजुरी गरेका हुन् ।
आयुक्त इला शर्माले आचारसंहिता उल्लंघनका विषयमा एमालेका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
‘एमालेका नेताहरू आउनुभएको थियो, उहाँहरूले सरकारले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो, हामी सोबारे अध्ययन गर्छौं,’ शर्माले भनिन् ।
एमालेले उपप्रधान तथा गृहमन्त्रीले हेलिकोप्टर प्रयोग गरेर पार्टीको काम गरेको तथा संसद्बाट बजेटमा पारित नभएका आयोजनाहरूमा रकम दिएर आचारसंहिता उल्लंघन गरेको जनाएको छ । टोलीले प्रमुख निर्वाचन आयुक्तसहितका आयोग पदाधिकारीलाई भेटी आचारसंहिता पालनामा कडाइ गर्न सुझाएको छ ।












प्रतिक्रिया