१४ कार्तिक २०८३, शनिबार

घुमाउरो बाटोबाट क्रान्तिकारी माओवादीले चुनावमा भाग लिने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने अन्तिम तयारीका साथ पार्टीभित्र छलफल अगाडि बढाएको छ ।

संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

पछिल्लोपटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा सहभागी हुने गरी छलफल अगाडि बढाएको हो । वैद्य माओवादीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने भएको छ ।

पार्टीले एउटै चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रूपमा भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने गरी माओवादीले गृहकार्य अगाडि बढाएको छ ।

राजधानीमा सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह स्थानीय सरकार भएकाले त्यसभन्दा बाहिर बस्न उचित नहुने भएकाले पार्टीको तर्फबाट स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिएर सहभागिता जनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उनले अहिलेको संविधान पश्चगामी भएको र संविधानको भण्डाफोर गर्नुपर्ने भए पनि स्थानीय तहको निर्वाचन बहिष्कार गर्दा जनतासँगको सम्बन्ध टुट्ने भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

‘चुनावमा भाग लिनुको अर्थ अहिलेको सिंगो संविधान र व्यवस्थालाई स्वीकार गर्नु होइन’ वैद्यले बैठकमा भने, ‘यो संविधान जनविरोधी छ भनेर जनतामा लैजाने हो, निर्वाचनलाई यसैको माध्यमका रूपमा प्रयोग गरेर जान सकिन्छ ।’

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष वैद्यले बैठकका एजेन्डा प्रस्तुत गर्दै अन्य पार्टीसँग तालमेल हुने ठाउँमा गठबन्धन बनाएर र नहुने ठाउँमा स्वतन्त्र रूपमा भए पनि निर्वाचनको सदुपयोग गर्नुपर्ने बताएका थिए ।

उनले निर्वाचन आयोगलाई मोर्चाको नामबाट एउटै चुनाव चिह्न प्रदान गर्न आग्रह गरेर देशभर मोर्चाको ब्यानरमा एउटै चुनाव चिह्नमा निर्वाचनमा जान सकिनेसमेत धारणा राखेका थिए ।

पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष सीपी गजुरेलले स्थानीय तहको निर्वाचनलाई सदुपयोग गर्ने या नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘पार्टी कार्यसमितिको विस्तारित बैठक सुरु भएको छ,’ प्रवक्ता गजुरेलले भने, ‘अहिलेको मुख्य विषय निर्वाचनमा सहभागी हुने या नहुने भन्ने नै हो, यो विषयमा टुंगो लाग्नेछ ।’बैठकमा सहभागी एक नेताले नेता तथा कार्यकर्ताले नै स्थानीय तहमा जनतासँग जोडिन पनि निर्वाचनमा भाग लिनुपर्ने दबाब आएको र अध्यक्षले पनि निर्वाचनको सदुपयोग गर्नुपर्नेमा जोड दिएर प्रतिवेदन पेस गरेकाले पार्टीले स्थानीय निर्वाचनमा भाग लिने निर्णय गर्ने बताए ।

वैद्य माओवादीले यसअघि पार्टी उपाध्यक्ष गजुरेलको संयोजकत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गठन गरेको थियो । सोही मोर्चाको ब्यानरमा वैद्य माओवादीले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने तयारी गरिरहेको हो ।